फेरि एमाले-माओवादीबीच एकता हुने संकेत

फेरि एमाले-माओवादीबीच एकता हुने संकेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पछिल्लो समय प्रमुख राजनीतिक दलहरुलाई नयाँ सरकार गठनको लागि बहुमत जुटाउन सकस परेको छ । मंसिर ४ गते भएको आमनिर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई बहुमत जुटाउन सकस परेको हो ।

नेपाली कांग्रेस सत्ता गठबन्धनमा आवद्ध दलहरु र अन्य साना दलहरु मिलाएर आफ्नो नेतृत्वमा सरकार बनाउन चाहान्छ भने नेकपा एमाले हालको गठबन्धन फुटाएर आफ्नो नेतृत्वमा सरकार बनाउने दाउमा छ ।

नेकपा एमालेले सत्ता गठबन्धनमा रहेकाे माओवादी केन्द्रलाई फकाउन थालेको छ । यसैबीच नेकपा एमाले र नेकपा माओवादीबीच छलफल पनि भइरहेको छ । २०७४ मा यी दुई दल मिलेर सरकार गठन भएकाे थियाे । तर, धेरै लामोसमय सम्म टिक्न सकेन । फेरि, माओवादी र एमालेबीच मिल्ने प्रयास भइरहेको छ ।

सत्ता गठबन्धनले सरकार गठन गर्ने कसरत गरिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओली राजनीतिक संवादमा जुटेका हुन् । मंगलबार साँझ मात्रै अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङबीच भेटवार्ता भएको छ । उक्त भेटमा भएको कुराकानीबारे दुवै पक्षले केही खुलाएका छैनन् । उक्त भेटवार्तामा सत्ता सहकार्यबारे कुनै कुरा नभएको महासचिव गुरुङले बताए ।

उनले भने,‘सरकार गठनका लागि अझै लामो प्रक्रिया बाँकी नै छ । हिजोको भेटमा सामान्य बधाई आदान प्रदान मात्रै भएको हो । सत्ता सहकार्यबारे कुनै छलफल भएको छैन ।’ महासचिव गुरुङले सरकार गठनबारे नेपाली कांग्रेससँग कुनै ठोस सहमति नभइसकेको बताएका छन् । यसअघि मंसिर १९ गते एमाले सचिव रघुवीर महासेठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए ।

महासेठले निर्वाचनमा विजयी भएको भन्दै प्रचण्डलाई बधाई दिन गएको दावी गरेका थिए । पछिल्लो समय एमाले र माओवादीका दोस्रो तहका नेताहरु फेरि पनि मिलेर जानुपर्ने पक्षमा छन् । यता प्रचण्ड भावी प्रधानमन्त्री बन्ने कसरतमा लागेका छन् ।

उनले सत्ता गठबन्धनको नेृत्वको सरकार गठन भए पनि पहिलो २ वर्ष आफू प्रधानमन्त्री बन्ने चाहना राखेका छन् । तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पनि प्रधानमन्त्रीबाट पछि नहट्ने रणनीति छ । त्यसकारण पुनः नेकपा माओवादी र एमालेबीच सरकार गठनमा गठबन्धन हुने आँकलन गरिएको छ ।