काठमाण्डु– एमालेले सत्तारुढ रास्वपा पंक्तिले रसुवा बाढीमा परिवारका सदस्य र आफन्त गुमाएका नागरिकमाथि अपमानजनक अपशब्द प्रयोग गरी मुख छाडेको भन्दै आपत्ति जनाएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै एमाले संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले त्यस्तो काममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का नाममा सञ्चालित सामाजिक सञ्जालका खाताहरुसमेत प्रयोग भएको आरोप लगाइन् ।
अर्यालले आफ्नो आधिकारिक सञ्जाल कुन हो भन्ने स्पष्ट गर्न र आफ्ना होइनन् भने बन्द गर्न बालेनलाई सुझाव दिइन् ।
विपत्तिमा परेका नागरिकलाई सत्तारुढ पार्टीका नेता–कार्यकर्ताले गालीगलौज गर्ने र प्रधानमन्त्रीकै नाममा सञ्चालित सामाजिक सञ्जालका खाता उक्त कार्यमा प्रयोग हुनु आपत्तिजनक भएको बताइन् ।
आफन्त गुमाएर शोकमा रहेका तथा आफ्ना प्रियजनको शव खोजिरहेका नागरिकलाई राजनीतिक समर्थक वा विरोधीका रूपमा छुट्याउने प्रवृत्ति अमानवीय भएको बताइन् ।
उनले सरकारको आलोचना गर्ने नागरिकलाई दलको समर्थक भन्दै गाली गर्ने, पीडितमाथि नै दोष थोपर्ने र सरकार असफल बनाउन खोजिएको भन्दै उनीहरूको पीडामाथि राजनीति गर्ने प्रवृत्ति अन्त्य गर्न आग्रह गरिन् । ‘पीडामा परेको नागरिकलाई पहिला पीडितका रूपमा हेरौं, राजनीतिक कार्यकर्ताका रूपमा होइन,’ अर्यालले भनिन् ।
विपत्तिमा घर गुमाएका, आफन्त गुमाएका र आफ्नै ज्यान जोखिममा राखेर उद्धारमा खटिएका नागरिक तथा स्थानीय जनप्रतिनिधिमाथि समेत सत्ता पक्षबाट आरोपित भइरहेको भन्दै उनले आपत्ति जनाइन् ।
‘स्थानीय तह तहसनहस भएको छ । जनप्रतिनिधि र कर्मचारी बेपत्ता छन् । उनीहरुका परिवार आफन्त र प्रियजन पनि बेपत्ता भएका छन् । घर बगेका छन् । यस्तो अवस्थामा उनीहरु आफैं पीडित भएर पनि उद्धार कार्यमा अहोरात्र खटिएका छन् । तर, तिनै स्थानीय तहलाई फर्किएर किन गरिनस् भन्ने प्रश्न कति शोभनीय छ ?’, उनले भनिन् ।
सरकारको आलोचना भयो भन्दैमा आँशुमा पनि राजनीतिक रंग खोज्ने, आफन्तको शव खोजिरहेको नागरिकलाई पनि दलको समर्थक वा विरोधी भनेर छुट्याउने यो कस्तो राजनीति ’ भन्दै उनले प्रश्न गरिन् ।
अर्यालले बाढीबाट स्थानीय तह नै तहसनहस भएको र कतिपय जनप्रतिनिधि तथा कर्मचारीसमेत बेपत्ता भएको अवस्थामा त्यही स्थानीय तहलाई काम गर्न नसकेको भन्दै प्रश्न उठाउनु उचित नभएको बताइन् ।
स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी आफैं पीडित हुँदाहुँदै पनि उद्धार तथा राहतमा खटिरहेका बताइन् ।
तिनै स्थानीय तहलाई फर्किएर किन गरिनस् भन्ने प्रश्न कति शोभनीय छ,’ उनले प्रश्न गरिन् ।
‘विपत्तिको सामना गरिरहेका नागरिक आफ्नो परिवार, आफन्त गुमाएर गुहार मागिरहेका छन् । कसैले आमा, कसैले बाबु, कसैले श्रीमान, कसैले श्रीमती वा परिवारका प्रिय सदस्य गुमाएका छन् । यस्तो क्षणमा एउटा बाबु गुमाएको बालकका लागि संसारको सबैभन्दा ठूलो अर्को कुरा हुन सक्दैन । श्रीमती गुमाएका श्रीमानका लागि त्यो क्षणमा श्रीमतीभन्दा मूल्यवान अरु केही हुन सक्दैन । श्रीमान गुमाएकी श्रीमतीका लागि त्यो क्षणमा श्रीमानभन्दा अर्को ठूलो चिज केही हुनै स्क्दैन । आफ्नो प्रियजनको जीवनभन्दा ठूलो कुनै राजनीतिक सत्ता, विचार, सरकार हुनै सक्दैन’, उनले भनिन्, ‘तर, यस्तो असह्य पीडाको बीचमा पीडित नागरिकतर्फ फर्किएर सरकारको बचाउका नाममा मनपरि गाली गर्ने, अमर्यादित शब्द प्रयोग गर्ने, पीडितलाई नै दोषी देखाउने, सरकार असफल बनाउन खोजियो, अमुक दलले उक्सायो भनेर उनीहरुको पीडामाथि राजनीति गर्ने प्रवृत्ति कति निर्दयी र अमानवीय छ । पीडामा परेको नागरिकलाई पहिला पीडितका रुपमा हेरौं । राजनीतिक कार्यकर्ताका रुपमा होइन । सरकारको आलोचना भयो भन्दैमा आँशुमा पनि राजनीतिक रंग खोज्ने आफन्तको शव खोजिरहेको नागरिकलाई पनि दलको समर्थक वा विरोधी भनेर छुट्याउने यो कस्तो राजनीति ? अझ प्रधानमन्त्रीकै नामबाट सञ्चालन गरिएका सामाजिक सञ्जालका आइडीहरुबाटै विरोध र आक्रोशको वर्षा हुनु झन् गम्भीर र खेदजनक विषय हो । प्रधानमन्त्री देशका सबै नागरिकको अभिभावक पद हो । उहाँका शब्दले सबै नागरिका घाउमा मलम लगाउनुपर्छ । घाउ अझै गहिरो बनाउँनु हुँदैन । प्रधानमन्त्रीज्यू तपाईंको पद र नामको दुरुपयोग गरी नागरिकसँग विवाद गर्ने, गालीगलौज गर्ने, आक्रोश पोख्ने, पीडितलाई थप पीडा दिने काम भइरहेको छ । तसर्थ तपाईंका नाममा सञ्चालित अन्य आइडीहरुबारे जिम्मा लिनुस् होइन भने तपाईंको आधिकारिक आइडीबाहेक सबै नामका सम्पूर्ण आइडीहरु तत्काल बन्द गर्नुस् ।’
अर्यालले घर बगेका र भत्किएर बस्न नसक्ने परिवारका लागि अस्थायी आवास तथा शौचालयको व्यवस्था गर्नुपर्ने र बालबालिका तथा ज्येष्ठ नागरिकका लागि आवश्यक औषधि र स्याहारसुसारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
विपत्तिमा सबैभन्दा ठूलो पीडा आफन्त गुमाएका नागरिकले भोगिरहेको भन्दै उनले त्यस्तो अवस्थामा राजनीतिक सत्ता वा विचारभन्दा मानवीय संवेदना ठूलो हुने बताइन् ।




प्रतिक्रिया