एमाले-राजावादी प्रदर्शन : दुवै पक्षलाई आमने-सामने हुन नदिने तयारी, सुरक्षा कडा

एमाले-राजावादी प्रदर्शन : दुवै पक्षलाई आमने-सामने हुन नदिने तयारी, सुरक्षा कडा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गणतन्त्रको पक्ष र विपक्षमा बिहीबार एमाले र राजावादी समूले गर्न लागेको प्रदर्शनलाई दृष्टिगत गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार हुने कार्यक्रमको सुरक्षाको सबै तयारी पूरा भएको जनाएको छ।

राजसंस्थाको पुनर्स्थापनाको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आन्दोलन र गणतन्त्र दिवसको अवसर पारेर एमालेले मनाउन लागेको उत्सव एकै दिन परे पनि दुवैलाई आमने–सामने पर्न नदिनका लागि सुरक्षा निकाय तयारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले बताए ।

एमालेले १० : ३० देखि २ बजेसम्म कार्यक्रम सकाउने तयारी गरेको छ । त्यसपछि सोही स्थानमा राप्रपाले कार्यक्रम गर्ने तय भएको छ ।

‘हामी सकभर दुवै पक्षलाई आमने–सामने नपरुन् भन्ने चाहन्छौं,’ भण्डारीले भने, ‘त्यस्तो स्थिति आउन नदिनको लागि सुरक्षाका सबै निकाय तयार अवस्थामा रहन्छन् ।’

राप्रपाले जिल्ला प्रशासन कार्यालयबाट अनुमति नलिई रत्नपार्कमै आन्दोलन गर्न लागेको छ । राप्रपाले सभा नभई आन्दोलन गर्न लागेकाले अनुमति लिनु नपर्ने प्रवक्ता मोहन श्रेष्ठको भनाइ छ ।

राजावादीहरू विभिन्न ठाउँबाट जुलुस निकालेर दिउँसो १ बजे रत्नपार्कमा जम्मा हुने कार्यक्रम तय गरेका छन् ।

दुवै पक्षको प्रदर्शनलाई लक्षित गरेर बिहानैदेखि भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । सो क्षेत्रमा ड्रोनबाट समेत सुरक्षा निगरानी गरिने भएको छ ।