राष्ट्रसंघका एआई तथा साइबर सुरक्षा विज्ञ निक एस्टर्न-हार्ट नेपालमा

राष्ट्रसंघका एआई तथा साइबर सुरक्षा विज्ञ निक एस्टर्न-हार्ट नेपालमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- संयुक्त राष्ट्रसंघको डेटा गभर्नेन्स कार्यसमूहका सदस्य तथा कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ निक एस्टर्न–हार्ट नेपाल आइपुगेका छन्।

शनिबार राजधानीको होटल हिमालयमा आयोजना हुने ‘नेसनल एआई समिट २०२६’ मा सहभागी हुन उनी बिहीबार नेपाल आएका हुन्।

सम्मेलनका प्रमुख वक्तासमेत रहेका निक नेपाल आएको डिजिटल मिडिया फाउन्डेसनका अध्यक्ष प्रवेश सुवेदीले जानकारी दिए।

सुवेदीका अनुसार निकले विश्वव्यापी एआई प्रतिस्पर्धामा नेपालजस्ता विकासशील मुलुकले कसरी आफ्नो स्थान बनाउन सक्छन् भन्ने विषयमा केन्द्रित रहेर मन्तव्य दिनेछन्।

उनको सम्बोधनमा विश्वव्यापी एआई प्रतिस्पर्धा, डिजिटल सार्वभौमिकता तथा नेपालमा एआईको रणनीतिक सम्भावना र चुनौतीका विषय समेटिनेछन्।

निक लामो समयदेखि डिजिटल प्रविधि, अन्तर्राष्ट्रिय व्यापार, डिजिटल गभर्नेन्स र साइबर सुरक्षासम्बन्धी विश्वव्यापी नीति निर्माणमा सक्रिय छन्।

उनले दुई दशकभन्दा बढी समयदेखि संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्र, बहुराष्ट्रिय कम्पनी तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्दै डिजिटल अर्थतन्त्र र प्रविधिसम्बन्धी नीति निर्माणमा भूमिका खेल्दै आएका छन्।

‘फ्रम प्रमिस टु प्रोग्रेसः अपस्केलिङ नेपाल्स एआई क्यापासिटी’ अर्थात् ‘प्रतिबद्धतादेखि प्रगतिसम्मः नेपालको कृत्रिम बुद्धिमत्ता क्षमता विस्तार’ मूल नारासहित सम्मेलन आयोजना हुन लागेको हो।

एकदिने सम्मेलनमा नेपालसहित अमेरिका, बेलायत, जापान र सिंगापुरमा कार्यरत एआई तथा प्रविधि क्षेत्रका विज्ञ, नीतिनिर्माता, अनुसन्धानकर्ता, उद्यमी र सञ्चारकर्मीलगायत विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ।