काठमाण्डु – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालका हिमालमा तीव्र गतिमा हिमनदी पग्लिरहेकोबारे आफूले तीन वर्षअघि दिएको चेतावनी अहिले यथार्थमा परिणत भएको बताएका छन् ।
तीन वर्षअघि सगरमाथाको काखबाट दिएको चेतावनीलाई नेपालमा हालै देखिएका बाढी तथा पहिरोजस्ता विनाशकारी प्राकृतिक विपद्ले थप पुष्टि गरेको महासचिव गुटेरेसले बताएका हुन् ।
संयुक्त राष्ट्रसंघको ८१ औँ महासभाको मंगलबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले जलवायु परिवर्तनको असर सोचेभन्दा निकै छिटो र भयावह रूपमा देखापरिरहेको उल्लेख गरे।
उनले भने, ‘तीन वर्षअघि नेपालको हिमाली क्षेत्रमा मैले हिमनदी पग्लिने क्रम तीव्र बन्दै गएकोबारे चेतावनी दिएको थिएँ । कतिपयले त्यसलाई खतराको अतिशयोक्ति भनेका थिए । तर दुःखद घटनाहरूले देखाएझैं यसको असर धेरैले अपेक्षा गरेभन्दा छिटो, गम्भीर र व्यापक रूपमा आइरहेको छ ।’
गुटेरेसले जलवायु संकटलाई अन्तरपुस्तीय शक्तिको असन्तुलनसँग जोड्दै सबैभन्दा कम जिम्मेवार समूह र देशहरूले नै यसको सबैभन्दा ठूलो असर भोगिरहेको पनि बताए ।
महासचिव गुटेरेसले जलवायु परिवर्तनको मार नेपालजस्ता साना तथा कम उत्सर्जन गर्ने देशहरूले व्यहोर्नुपरेको तर न्याय नपाएको स्पष्ट पारे।
‘सबैभन्दा बढी प्रदूषण गर्ने र सबैभन्दा बढी लाभ लिनेहरूले आफूले निम्त्याएको क्षति परिपूर्ति गर्न अझ धेरै गर्नुपर्छ,’ उनले भने, ‘प्रदूषकहरूले तिर्नैपर्छ ।’
उनले विकसित देशहरूलाई जलवायु अनुकूलनका लागि वित्तीय प्रतिबद्धता पूरा गर्न र अनुकूलन वित्त तीन गुणा बढाउन आग्रह गरे । साथै, जलवायुजन्य क्षति तथा नोक्सानीसम्बन्धी कोषलाई पर्याप्त स्रोतसहित प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
गुटेरेसको सम्बोधनमा जलवायु संकटलाई विश्वसामु रहेका प्रमुख चार शक्ति परीक्षण मध्ये एकका रूपमा प्रस्तुत गरिएको थियो । उनले विकसित देशहरूले अनुकूलन वित्त बढाउनुपर्ने र जलवायु न्यायलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
उनले ठूला तेल कम्पनीहरूले वायुमण्डललाई प्रदूषणको माध्यम बनाएर अथाहा नाफा कमाएको उल्लेख गर्दै युक्रेनमा रुसी आक्रमणपछि मात्रै पाँच ठूला पश्चिमी तेल कम्पनीहरूले ५०० अर्ब डलर नाफा कमाएको तर विकासशील देशका लागि अनुकूलन वित्त ३४ अर्ब डलरमा मात्रै सीमित रहेको तथ्याङ्क उनले प्रस्तुत गरे।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयमा जारी महासभाको उच्चस्तरीय बहस बिहीबारसम्म चल्नेछ। उक्त महासभालाई प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ ।




प्रतिक्रिया