सूर्यविनायक-धुलिखेल सुरुङमार्गका लागि जापानसँग ऋण सम्झौता हुँदै


काठमाडौं–अरनिको राजमार्ग अन्तर्गत पर्ने सूर्यविनायक–धुलिखेल सुरुङमार्ग निर्माणका लागि जापानसँग ऋण सम्झौताको तयारी थालिएको छ।

सुरुङमार्ग निर्माणका लागि नेपाल र जापान सरकारका बीच मे अन्तिम साता ऋण सम्झौताको तयारी भैरहेको वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए।

महाशाखा प्रमुख श्रेष्ठका अनुसार ऋण सम्झौता भएपछि निर्माणको प्रक्रिया अघि बढ्ने छ।

गत मार्चमा नेपाल आएको जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)को टोलीले सुरुङमार्ग निर्माणबारे छलफल गरेको थियो।

भक्तपुरको पलाँसेबाट धुलिखेलतिर जानेबाटो अत्यन्त घुमाउरो र जोखिमपूर्ण रहेको छ। भक्तपुरको पलाँसे नजिकैको गणेश मन्दिर छेउबाट धुलिखेलतिर सुरुङमार्ग निर्माण गर्न लागिएको हो।

सुरुङमार्गसंगै १६ किलोमिटर सडक पनि ८ लेनमा विस्तार गर्न लागिएको महाशाखाले जनाएको छ। सुरुङमार्ग र सडक विस्तारका लागि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।जसमा केही प्रतिशत नेपालको पनि लगानी रहने महाशाखाले जनाएको छ।

अहिले सुरुङमार्गको सम्भाव्यता अध्ययन भैसकेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement