लकडाउन खुलेसँगै कोरोना संक्रमण पुनः फैलियो, एकजुट भएर लड्न र विजय प्राप्त गर्नुको विकल्प छैनः उपराष्ट्रपति पुन


काठमाण्डु – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले मुस्लिम समुदायको महान् पर्व इद–अल–अधा (बकर इद) को शुभकामना व्यक्त गरेका छन् । मन्त्री पुनले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपालमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना दिएका हुन् ।

उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण मुलुक भएको बताएका छन् । उपराष्ट्रपति पुनले विभिन्न समुदायका चाडवाड, रितिरिवाज र धर्म संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको बताएका छन् ।

उनले भनेका छन्, ‘कोरोना भाइरस(कोभिड–१९)को विश्वव्यापी महामारी रोकथाम तथा नियन्त्रणका प्रयास जारी रहँदा बकर इद आएको छ । यो प्रतिकुल परिस्थितिमा आइपुगेको बकर इद इस्लाम धर्मावलम्वीहरुले घरमै बसेर मनाउनुहुने विश्वास लिएको छु ।’

विज्ञप्तिमा भनिएको छ, ‘मानवजगतले पछिल्लो शताब्दीकै ठूलो महामारीको सामना गरिरहेको छ । नेपालमा नियन्त्रण उन्मुख भएको कोरोना भाइरस पछिल्ला दिनमा फैलनु र भाइरसबाट मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्नु गम्भीर चिन्ता र ठूलो चुनौतीको विषय हो । म नेपाल सहित विश्वका विभिन्न देशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु र उहाँहरुका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । संक्रमितहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

उनले लकडाउन खुलेसँगै देशमा कोरोना भाइरसको संक्रमण पुनः फैलिन थालेको उल्लेख गर्दै एकजुट भएर कोराना भाइरसविरुद्ध लड्न र विजय प्राप्त गर्नुको विकल्प नभएको बताएका छन् ।

उपराष्ट्रपति पुनले भनेका छन्, ‘लकडाउन खुलेसँगै देशमा कोरोना भाइरसको संक्रमण पुनः फैलिन थालेको छ । हामी एकजुट भएर कोराना भाइरसविरुद्ध लड्न र विजय प्राप्त गर्नुको विकल्प छैन ।

कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि तीनै तहका सरकारले आफ्ना कदमलाई पुनः प्रभावकारी बनाउने विश्वास लिएको छु । सरकार, चिकित्सक तथा विज्ञहरुको सुझावलाई मान्न, घरबाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न, अन्य स्वास्थ्य सावधानी अपनाउन र सरकारको प्रयासमा पूर्ण साथ दिन म सबै दिदीबहिनी तथा दाजुभाइहरुमा आग्रह गर्दछु,’ उनले भनेका छन् ।

कोरोना भाइरसविरुद्ध लड्न र विजय प्राप्त गर्न सिंगो नेपाली एकताबद्ध हुन र धैर्य गर्न आवश्यक छ । भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने इस्लाम धर्मवलम्वीहरुको महान् पर्व बकर इदले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ् गर्ने र कोरोना भाइरस, प्राकृतिक प्रकोपविरुद्ध लड्न सबै नेपालीलाई एकताबद्ध हुन प्रेरित गर्ने विश्वास लिएको छु ।’

प्रतिक्रिया दिनुहोस
Advertisement