जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले मुलुकमा लोकतन्त्र विरोधी शक्तिहरूले संघीय गणतन्त्रलाई समाप्त पार्ने खेल खेलिरहेको टिप्पणी गरेका छन् ।
शनिबार जनकपुरधाममा समाजवादी महिला संघ नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन २०८२ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संघीय गणतन्त्रलाई समाप्त गर्न सडकदेखि सदनसम्म लोकतन्त्र विरोधीहरू षड्यन्त्र गरिरहेको बताए । उनले मुलुकमा लोकतान्त्रिक गणतन्त्र नभए समानता पनि नहुनेमा जोड दिए ।
विगतको २५० वर्षको निरङ्कुश शासनमा महिलाहरुका लागि समानता कतै नभएको उनले बताए । ‘पहिलाको तुलनामा अहिले महिलाहरूले हरेक निकाय, क्षेत्रमा आफ्नो हक अधिकार पाइरहेका छन्, ती सबै मधेश आन्दोलनबाट प्राप्त संघीयताको हो,’ अध्यक्ष यादवले भने ।
उनले अहिले महिलाको ३३ प्रतिशत सहभागीता भएपनि राज्यको हरेक अंगमा महिलाको ५० प्रतिशत सहभागिता हुनुपर्नेमा जोड दिए । समानताको परिकल्पना जनता समाजवादी पार्टीबाहेक अन्य कुनै पार्टीमा नभएको उनको भनाइ थियो ।
मुलुक मन्त्री र प्रधानमन्त्रीले नभई बिचोलियाहरूले चलाइरहेको आरोप लगाएका उनले छन् । कमिसन खोर, दलाल र बिचोलियाहरूले सबै नियुक्ति र बजेट निर्माणका कार्यहरूमा कब्जा गरेको उनले आरोप लगाएका छन् ।
सरकारले २६ खर्ब बढी बैदेशिक ऋण लिए पनि त्यो ऋण कहाँ खर्च हुँदैछ भन्ने कसैले बुझ्न नसकेको उनले उल्लेख गरे । विश्व बैंकले खर्बौ खर्ब रुपैयाँ अनुदान दिए पनि देश विकास हुन नसक्नुमा भ्रष्ट्राचार मुख्य कारण भएको यादवको भनाई छ ।
अध्यक्ष यादवले मुलुक अहिले राजनीतिक रूपमा संकट र आर्थिक रुपमा जर्जर अवस्थामा रहेको टिप्पणी गरेका छन् । सरकारले संविधान संशोधन गर्ने नाममा जनतालाई ठग्ने काम मात्र गर्दै आएको उनले आरोप समेत लगाएका छन् ।
प्रतिक्रिया