कपिलवस्तु – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले हाल देशमा देखिएका सबै समस्यको मूल जरो वर्तमान संविधानमा रहेकाले यसलाई पुनर्लेखन गर्न माग गरेका छन् ।
शुक्रबार तौलिहवामा जसपा नेपाल कपिलवस्तुको आयोजित जिल्लाको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष यादवले संविधान नसच्याए मुलुकले योभन्दा कठिन र जटिल अवस्थाको सामना गर्न बाध्य हुने दाबी गरे ।
फोहोर भइसकेको खोलाको मुहान पहिले सफा गरौं, पानी आफैं स्वच्छ हुन्छ भन्दै अध्यक्ष यादवले भने, ‘मुलुकलाई निकास दिन ढिला नगरौं, दफावार धारा पिच्छे त्रुटिपूर्ण रहेको यो संविधानलाई पुनर्लेखन गर्नुको विकल्प नै छैन ।’
संविधान संशोधनकै एजेन्डा अघि सारेर बनेको वर्तमान सरकार सत्तालिप्सा, भ्रष्टाचारी, कमिसनखोर, बिचौलिया र भूमाफिया जस्ता देशका धमिरालाई संरक्षण गर्नुबाहेक संविधानका त्रुटिहरू सच्याउनेतर्फ गम्भीर नभएको उनले टिप्पणी गरे ।
संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार देशमै संविधान कार्यान्वयन नभएको भन्दै अध्यक्ष यादवले जारी भए देखिन नै यो विकृत संविधानकै कारणले १ दशकदेखि मुलुक अनिर्णयको बन्दी बन्न बाध्य भएको बताए ।
‘ठूला भनिएका ३ दल आफैंले ल्याएको संविधानको कभरमा संघीय लोकतान्त्रिक गणतन्त्र लेखे पनि यसको कार्यान्वयनमा इमान्दार छैनन्,’ अध्यक्ष यादवले भने, ‘यदि संविधान कार्यान्वयन हुँदैन भने त्यसले लोकतन्त्रलाई झन् कमजोर बनाउँछ, त्यसैले संविधानलाई संशोधन गरेर त्यसको मूलमर्म अनुसार पुनर्लेखन गर्नुपर्छ ।’
कांग्रेस र कम्युनिस्ट जस्ता दलहरू संविधान र संघीयताको कार्यान्वयनप्रति गम्भीर र जिम्मेवार नदेखिएको आरोप लगाउँदै यादवले प्रतिबद्धता विना कुनै पनि संविधान दीर्घकालीन बन्न सक्दैन, भ्रष्टाचार नियन्त्रण, सुशासन र जनताको विश्वास प्राप्त गर्न बलियो सरकारको आवश्यकता रहेको बताए ।
प्रतिक्रिया