उपेन्द यादवले भने : नेकपासंग पार्टी एकता हुंदैन


काठमाडौं – संघीय समाजवादी फोरमले सरकारको नेतृत्वकर्ता नेपाल कम्युनिष्ट पार्टीसंग एकता हुन लागेको भन्ने समाचारमा सत्यता नभएको दाबी गरेको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका अध्यक्ष यादवले विज्ञप्ति जारी गर्दै नेकपासंग पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

पार्टी एकताबारे सुनियोजित ढंगले जनतामा भ्रम सिर्जना हुने गरी प्रचार गरिएको विज्ञप्तिमा उल्लेख छ । फोरम नेपालको गत वैशाख २१ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दलसँग एकीकरण गर्न सकिने निर्णय गरेको तर, जनतामा गलत भ्रम फैलाउने नियतले गलत प्रचारबाजी गरिएको आरोप यादवको छ ।

‘विगत केही दिनयता विभिन्न संचार माध्यम र समामाजिक सञ्जालहरुमा संघीय समाजवादी फोरम नेपाल र नेकपाबीच पार्टी एकीकरण हुन लागेको भनी प्रचारित समाचारहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘तथ्यहीन ढंगले आइरहेका गलत समाचारहरुको भ्रम फैलाउन र जनतामा गलत सन्देश दिने नियतले प्रचारित यस्ता प्रायोजित एवं निराधार समाचारहरुमा कुनै सत्यता नरहेको तर्फ पनि सम्पूर्ण पार्टी पंक्ति र आमजनतालाई स्पष्ट पार्न चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ ।

संविधान संशोधनबारे नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसंग तीन बुंदे सहमति गरेपछि यादव नेतृत्वमा फोरम सरकारमा सहभागी भएको थियो । नेकपा नेताहरुले फोरमसंग एकता हुन लागेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि फोरम अध्यक्ष यादवले विज्ञप्ती जारी गरेका हुन ।

प्रतिक्रिया दिनुहोस
Advertisement