बारा २: उपेन्द्रलाई हराउन लोसपा र जनमत चुनावी मैदानमा उत्रिदैँ

बारा २: उपेन्द्रलाई हराउन लोसपा र जनमत चुनावी मैदानमा उत्रिदैँ


काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा बारा २ मा उम्मेदवारी दिने पक्का पक्की भएको छ । बारा-२ मा जनता समाजवादी पार्टीका सांसद रामसहाय यादव उपराष्ट्रपति बनेपछि सो क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुने भएको हो ।

गत मंसिर ४ गते भएको संघीय निर्वाचनमा सप्तरी २ बाट पराजित भएका यादव यही वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा बार २ बाट चुनाव लडेर संसद छिर्ने योजना बनाएका छन् । तर, उनलाई तराई मधेसकेन्द्रित दल जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (जसपा)ले सत्तारुढ १० दलीय गठबन्धनबाट साझा उम्मेदवार बन्न नदिने रणनीति बनाएका हुन् ।

निर्वाचनमा बारा २ मा कुनै पनि अवस्थामा उम्मेदवारी दिने योजना बनाएका यादवलाई हराउनु पर्ने जनमत पार्टीका अध्यक्ष सीके राउतले बताएका छन् । मंसिर ४ गते भएको निर्वाचनमा पनि सीके राउतसँग उपेन्द्र पराजित भएका थिए । हाल पनि राउत यादवविरुद्ध उभिएका छन् ।

सिके राउतले गत बिहीबार बारास्थित महागढीमाइ मन्दिर पुगिर पूजाआजा गरी चुनावी अभियानको सुरुवात गरेका छन् चुनावी अभियान सुरु गरेका राउतले उपेन्द्र यादवप्रति संकेत गर्दै सो निर्वाचन क्षेत्रमा फिरङ्गी उम्मेदवारको गुञ्जायस नभएको प्रतिक्रिया दिए । ‘महागढीमाइको आशिर्वाद लिँदै मिशन बारा २ को शुभारम्भ,’ राउतले भनेका थिए,‘माताको यो दरवारमा, स्वाभिमानी वीर योद्धाहरूको यो भूमिमा कुनै बाहिरी फिरङ्गी उम्मेदवार चण्डमुण्डको कुनै गुञ्जायश छैन।’ उनले कुनै पनि हालतमा जनमत पार्टी विजयी हुने दाबी गरेका छन्।

बारा २ बाट उपनिर्वाचनमा यादवविरुद्ध आफ्नो पार्टीले उम्मेदवार उठाउने र आफ्नो उम्मेदवार नै विजयी हुने दाबी राउतको छ । उनले कुनै पनि हालतमा यादवलाई संसद छिर्नबाट रोक्नुपर्ने बताए । त्यस्तै लोसपाको शुक्रबार बसेको कार्यकारिणी बैठकले बारा २ मा उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ। जसपाका नेताहरू भने बारा २ मा सत्ता गठबन्धनबाट यादवलाई साझा उम्मेदवार बनाउन प्रयास गरेका छन्। जसपाका नेताले जति प्रयास गरे पनि यादव बारा २ मा १० दलीय गठबन्धनबाट साझा उम्मेदवार बन्न नदिने रणनीतिमा लोसपा र जनमत पार्टीका नेताहरु लागेका छन् ।

यही, चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनमा जसपाका नेताहरूले जसपाका उम्मेदवार रामसहाय यादवलाई सत्तारुढ गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनाउन अन्तिमसम्म प्रयास गरेका थिए । यसमा नेपाली कांग्रेस र नेकपा (माओवादी)ले जनमत पार्टीलाई मनाउने प्रयास गरेका थिए। तर जनमत पार्टीका अध्यक्ष सिके राउतले उपनिर्वाचनमा पार्टीबाट उम्मेदवारी दिलाएरै छाडे ।

रामसहाय यादव उपराष्ट्रपतिमा विजयी भए तर राउतले रामसहायलाई गठबन्धनको तर्फबाट साझा उम्मेदवार बन्न दिएनन्। यसपटक पनि त्यही अवस्था दोहोरिने भएको छ । यद्यपि अहिले जनमत र लोसपा दुवै पार्टीका नेताहरूले बारा २ मा उम्मेदवारी दिने घोषणा गरेका छन्।

उपराष्ट्रपति निर्वाचनअघि तराई मधेसकेन्द्रित ३ दल जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीले कार्यगत एकता गर्ने निर्णय गरेका थिए । यो कार्यगत एकता उपनिर्वाचन पनि कायम रहने जनमत तथा लोसपाका नेताहरुले बताउँदै आएका छन् ।