गौर हत्याकाण्ड बल्झिँदा उपेन्द्र यादवमाथि संकट ! सरकारले कारवाही नगरे हेग जाने चेतावनी


काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सत्तारुढ दलका नेता हुन् तर उनी संलग्न रहेको भनिएको गौर हत्याकाण्डको कारवाही प्रक्रिया अगाडि बढाउन सरकारले निर्देशन दिएको खबर बाहिरिएको छ ।

गौर हत्याकाण्ड छानबिन हुनुपर्ने माग गर्दै आन्दोलनरत पक्षसँग गृह मन्त्रालयले सहमति समेत गरेको थियो तर पछि अध्यक्ष यादवले असन्तुष्टि जनाएपछि कारवाही प्रक्रिया रोकिएको थियो ।

फेरि कारवाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयले मातहत निकायलाई निर्देशन दिइसकेको खबर बाहिरिएका बेला सरकारले कारवाही नगरे हेग जाने चेतावनी सार्वजनिक भएको छ ।

मधेश केन्द्रित दल आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर घटनाका दोषीलाई कारबाही नगरे चुप लागेर नबस्ने चेतावनी दिए । सोमबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै साहले पीडितहरूसँग सहमति गरे पनि कुर्सी हल्लिने भएपछि सरकार पछि हटेको आरोप लगाए ।

‘यदि सरकारले यसरी नै लटरपटर गर्ने हो भने पीडितहरू चुप लागेर बस्दैनन्, हाम्रो पार्टी चुप लागेर बस्दैन,’ अध्यक्ष साहले भने ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरूलाई जोगाएको, ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरूलाई मुद्दा चलाउनुको साटो सरकारी साक्षी बनाएको उनले आरोप लगाए । सुन काण्डमा पनि ठूला नेताहरूको नाम आएपछि सरकार हच्किएको साहले बताए ।

गौर घटनामा पनि १७ वर्षअघि नै जाहेरी दर्ता भएको भए पनि सरकारले छानबिन समेत नगरेको उनले बताए । गौर हत्याकाण्ड पीडित संघर्ष समिति र सरकारबीच गौर घटनाको विषयमा सहमति गरे पनि सरकार पछि हटेको भन्दै अध्यक्ष साहले यदि नेपालबाट न्याय नपाए पीडितहरू अन्तर्राष्ट्रिय अदालत (हेग) सम्म जाने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement