काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सबै मधेशीहरू एकजुट हुन आवश्यक रहेको बताएका छन् ।
बिहीबार काठमाण्डुमा जसपाको काठमाण्डु उपत्यका गठन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले काठमाण्डुमा मधेशीहरू हेपिएको भन्दै आफ्नो हकको लागि एकढिक्का भएर आवाज उठाउने उद्देश्यले जसपाको काठमाण्डु उपत्यका गठन गरिएको जानकारी दिए ।
उनले भने, ‘मधेशीलाई हरेक कुरामा भेदभाव गरिएको छ । कवाडीहरूले काठमाण्डुमा आन्दोलन गर्दा लाठी चार्ज भयो । अरुले गर्दा केही भएन । त्यसैले हामी सबै मधेशी संगठित हुन आवश्यक छ । हामी एकढिक्का भयौं भने काठमाण्डुमा कसैले दबाउन सक्दैन । काठमाण्डु बस्ने मधेशवालाहरूको संगठित गरेर पार्टीसँग जोडिएको छ ।’
उनले मधेशीहरूको जनसंख्या धेरै भए पनि एकजुट हुन नसकेको कारण आफ्नो हकको लागि बोल्न नसकेको बताए । मुलुकको राजनीतिमा विसंगति र विकृति रहेको भन्दै राज्यले गरेको गलत कामलाई गलत भन्ने सामथ्र्य गठित संगठनले राख्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘हाम्रो यतिधेरै जनसंख्या भए पनि एकजुट हुन सकेको छैन । आफ्नो हकको लागि बोल्न सकेको छैन । त्यसैले पार्टीमा विमर्श गर्यौं । मुलुकको राजनीतिमा विसंगति र विकृति छ । हामी त्यसमा खडा हुनुपर्छ । राज्यले गरेको गलत कामलाई गलत भन्न सक्नुपर्छ र न्याय र अधिकारको लागि पनि खडा हुनुपर्छ ।’
प्रतिक्रिया