सरकार छोड्ने मनस्थितिमा उपेन्द्र यादव, प्रधानमन्त्रीमाथि लाग्यो अपमान गरेको आरोप


काठमाडौं – संघीय समाजवादी पार्टीले सरकार छोड्ने संकेत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चाहनाविपरित मन्त्रिपरिषद हेरफेर गरेको भन्दै समाजवादी पार्टीले फेरि सरकार छाड्न सक्ने संकेत गरेको हो ।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका उपप्रधानमन्त्री उपेन्द्र यादव कानुन मन्त्रालयमा सिफ्ट भएपछि समाजवादीले विरोध जनाएको छ । त्यस्तै शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईलाई प्रधानमन्त्रीले सरकारबाट हटाएका छन् । भारत भ्रमणमा रहेको स्वास्थ्यमन्त्री उपेन्द्र नेपाल आएपछि आवश्यक निर्णयमा पुग्ने सो पार्टीले जनाएको छ ।

मन्त्रीपरिषद हेरफेर हुँदा यादवले सम्हाल्दै आएको स्वास्थ्य मन्त्रालयमा नेकपाका भानुभक्त ढकाललाई ल्याइएको छ भने यादवलाई काननु, न्याय तथा संसदीय व्यवस्था मन्त्रीको जिम्मेवारी दिएको छ । स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवलाई हटाइएको छ ।

समाजवादी पार्टीभित्र सरकार छाड्ने विषयमा विवाद रहँदै आएको थियो । पार्टीका अर्का अध्यक्ष बाबुराम भट्टराईले एकीकरणदेखि नै सरकार छाड्नु पर्ने दबाब यादवमाथि दिँदै आएका छन् ।

सरकार गठन हुँदा भएको सहमती अनुसार संविधान संशोधन नगरे सरकार छाड्ने बताउँदै आएको समाजवादी पार्टीले त्यसका समयसीमा बढाउँदै लगेको थियो । पछिल्लो समयमा प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री यादवबीच बोलचाल नै बन्द भएको चर्चा भइरहेको छ ।

‘पार्टीभित्र यसअघि नै सरकार छोड्ने विषयमा छलफल चलेकै हो तर, प्रधानमन्त्री ओलीले हाम्रा माग पनि पूरा गरेको छैन् । यो अपमान सहेर हामी सरकारमा बस्नुको औचित्य छैन्’, समाजवादी पार्टीका एक नेताले भने, ‘अध्यक्षज्यू एक कार्यक्रममा भाग लिन दिल्ली जानु भएको छ । उहाँ आएपछि सम्भवतः सरकार छोडिन्छ होला ।’

प्रतिक्रिया दिनुहोस
Advertisement