निर्वाचन आयोगको निर्णयविरुद्ध उपेन्द्र पक्ष अदालत जाने, कानुन व्यवसायीसँग छलफल गर्दै


काठमाण्डु – निर्वाचन आयोगले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव पक्ष सर्वोच्च अदालत जाने भएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले आज त्यसका लागि कानुन व्यवसायीसँग छलफल गर्न लागेको बताइएको छ । यादव पक्षका नेता प्रदिप यादवले पार्टीको विधानअनुसार गरिएको कारवाहीलाई मान्यता नदिएकाले आयोगको निर्णय विरुद्ध अदालतमा जाने तयारी गरेको बताए ।

अदालत जानुअघि कानुन व्यवसायीसँग छलफल गर्न लागेको उनको भनाइ छ । निर्वाचन आयोगले दुवै पक्षको कारवाहीलाई मान्यता नदिएपछि जसपाको राजनीति नयाँ कोर्समा प्रवेश गरेको छ ।

जसपामा अध्यक्ष उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बहुमतको बलमा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई कारवाही गर्दै पार्टीबाट निष्कासन गरेको थियो भने महन्थले संसदीय दलको बहुमतका बलमा उपेन्द्रलाई पार्टीबाट निष्कासन गरेका थिए । तर, दुवैको कारवाहीको पत्रलाई निर्वाचन आयोगले भने आइतवार मान्यता नदिने निर्णय गर्यो ।

आयोगले अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष ठाकुरसँगै राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण र अध्यक्ष ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरी अद्यावधिकका लागि गरेको माग राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम नमिल्ने आयोगले बताएको छ ।

साथै राजनीतिक दलसम्बन्धी नियम २५ को उपनियम ५ अनुसार जसपाको पदाधिकारी विवरण साविककै कायम रहेको समेत आयोगले बताएको छ । आयोगको निर्णय चित्तबुझ्दो नआएपछी आयदवपक्ष सार्वोच्च जाने तयारीमा जुटेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement