हावाहुरी प्रभावित क्षेत्रमा एक–एक हजार थान आधुनिक चुल्हो र सोलार उपलब्ध गराउने ऊर्जाको निर्णय


काठमाडौं–संघीय सरकारले गत आइतबार बारा र पर्सामा चलेको भीषण हावाहुरीका कारण प्रभावित भएको क्षेत्रमा आधुनिक चुल्हो र सोलार उपलब्ध गराउने निर्णय गरेको छ।

हावाहुरीका कारण सयौं परिवार घरबारविहीन भएको र कतिपय क्षेत्रमा विद्युत अवरुद्ध विद्युत सूचारु गर्न नसकिएका बेला मंगलबार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको बैठकले एक–एक हजार थान आधुनिक चुल्हो र सोलार उपलब्ध गराउने निर्णय गरेको हो।

उर्जा सचिव दिनेश घिमिरे, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक नवराज ढकाल सहभागी बैठकमा हावाहुरीबाट भएको क्षतिका बारेमा छलफल भएको थियो।

यसैगरी, अवरूद्ध विद्युत सेवा पुनः सुचारू गर्न योजना र बजेट निर्माण गर्ने र १३२,३३ र ६६ केभीको लाईन सुरु गर्ने निर्णय भएको छ।
विरगंज क्षेत्रमा अहिलेसम्ममा ९० प्रतिशत विद्युत समेत सुचारु भइसकेको छ।

हावाहुरीको कारण नेपाल विद्युत प्राधिकरणलाई १५ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ। आइतबार साँझ आएको हुरीको कारण प्राधिकरणको प्रसारण लाइन तथा अन्य भौतिक संरचनामा ठूलो मात्रामा क्षति भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement