आधुनिक ऊर्जा प्रविधिलाई अझ विस्तार गरिन्छ : ऊर्जामन्त्री पुन


काठमाडाैं–ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले  सरकारले नीति, आवधिक योजना र बजेटमार्फत ऊर्जालाई महत्व दिएको बताएका छन्।

 वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र त्रिभुवन विश्वविद्यालय, इञ्जिनीरिङ अध्ययन संस्थानद्वारा संयुक्तरुपमा आयोजित ग्रामीण तथा शहरी विकासका लागि नवीकरणीय ऊर्जासम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा मन्त्री पुनले पूर्वाधार निर्माण, औद्योगिकीकरण, व्यापार र समग्र विकासका लागि ऊर्जा आधारभूत वस्तु रहेकाे बताए।

 गत वर्ष सरकारले ल्याएको ऊर्जासम्बन्धी श्वेतपत्रमा दिगो विकास लक्ष्य तथा सबैका लागि ऊर्जाको पहुँच पु-याउन नवीकरणीय ऊर्जासम्बन्धी विभिन्न लक्ष्यहरु निर्धारण गरेको उनले बताए।  सरकार, दातृ निकाय र निजी क्षेत्रको सहकार्यमा स्वच्छ र आधुनिक ऊर्जा प्रविधिलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता रहेकाे  मन्त्री पुनकाे जाेड छ।

सम्मेलनले  ऊर्जा र दिगो विकास, ऊर्जा सुरक्षा, जलवायु परिवर्तन र कार्बन व्यापार, हरित आर्थिक वृद्धि, नवीरकणीय ऊर्जा प्रविधि, लैङ्गिक मूल प्रवाहीकरण र ऊर्जा, मिनी ग्रीड, ऊर्जा दक्षता, विद्युुत् सम्झौता, स्वच्छ ऊर्जा प्रविधिमा लगानी, दिगो ऊर्जा पहुँच बढाउनुपर्ने, नवीकरणीय ऊर्जा शिक्षा, विद्युतीय सवारी, एलपिजी ग्यासलाई नवीकरणीय ऊर्जाबाट विस्थापन गर्नेलगायत ३० बुँदे निर्णय गरेकाे छ।

तीन दिनसम्म सञ्चालन भएको  सम्मेलनमा नेपाललगायत करीब १५ देशका २ सय ५० जना ऊर्जाविद्को सहभागिता रहेको थियो । सम्मेलनमा नवीकरणीय ऊर्जासम्बन्धी ८० वटा कार्यपत्र प्रस्तुत भएका थिए ।

यसअघि नवीकरणीय ऊर्जासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सन् १९९८, सन् २००३ र २०११ मा काठमाडौँमा भएको थियो । साथै सन् २००९ मा नवीकरणीय ऊर्जा प्रविधि र दिगो विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन र सन् २००६ मा राष्ट्रिय सम्मेलन आयोजना भएको थियो ।

–––

प्रतिक्रिया दिनुहोस
Advertisement