उर्जामन्त्री पुनलाई रसुवागढी र साञ्जेनको २०-२० कित्ता सेयर


काठमाडौं – जनताको जलविद्युत आयोजना अन्र्तगत दोस्रो चरणमा सेयर निष्काशन गरेका रसुवागढी जलविद्युत र साञ्जेन जलविद्युत आयोजनामा सभामुख कृष्णबहादुर महरालाई ६० कित्ता सेयर परेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बिहीवार भएको सेयर बाँडफाँडमा सभामुख महरालाई रसुवागढी जलविद्युत आयोजनाको ४० कित्ता र साञ्जेन जलविद्युत आयोजनाको २० कित्ता सेयर परेको हो । त्यस्तै उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनलाई रसुवागढी र साञ्जेन जलविद्युत आयोजनाको २०-२० कित्ता सेयर परेको छ ।

रसुवागढी र साञ्जेन जलविद्युत कम्पनीले वैशाख ६ गतेदेखि वैशाख १२ गतेसम्म सेयर निष्काशन गरेका थिए । रसुवागढीमा आवेदन दिएका लगानीकर्ताले अधिकतम ५० सम्म सेयर प्राप्त गरेका छन् भने १० देखि ४० कित्तासम्मको सेयर माग गरी आवेदन दिएका लगानीकर्ताले भने मागेजति नै सेयर प्राप्त गरेका छन् । साथै ५० कित्ता देखि ५ हजार कित्ता सम्म माग गर्ने आवेदकहरुले थप १० कित्ता सेयर प्राप्त गरेका छन् ।

कम्पनीको सेयरमा कुल ३ लाख २ हजार ३४३ जना आवेदकमध्ये ११ हजार ७१ आवेदन रद्ध भएको छ । साञ्जेनको सेयरमा रितपूर्वक आवेदन दिएका २ लाख ८८ हजार ८९७ जना लगानीकर्तालाई बाँडफाँट गरिएको छ । यीमध्ये १० देखि २ हजार कित्तासम्म आवेदन दिने सबै आवेदकलाई १० कित्ताको दरले सेयर प्राप्त गरेका छन् ।

१० कित्ता सेयर बाँडफाँडपछि बाँकी २० लाख ९३ हजार २ सय ८० कित्ता सेयरलाई पुन २० कित्तादेखि माथि आवेदन दिएकामध्ये २ लाख २९ हजार ४४२ आवेदकमध्ये २ लाख ९ हजार ३२८ जनाले गोलाप्रथामार्फत थप १० कित्ता सेयर पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement