विद्युत आयोजना समयमै सक्न उर्जामन्त्री पुनले लिए एक्सन, रसुवाका ६ आयोजनाको निरीक्षण (फाेटाेफिचर)


काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले नेपाल विद्युत् प्राधिकरण र सहायक कम्पनीले निर्माण गरिरहेका आयोजना निर्धारित मितिमै सम्पन गर्न एक्सन लिएका छन्।

जलविद्युत आयोजना निर्माणमा ढिलाइ भइरहेको, लाइसेन्स ओगटेर बस्ने प्रवृत्ति बढ्दै गएको जस्ता गुनासा आइरहेका बेला उर्जामन्त्री पुुनले रसुवा जिल्लामा निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ए ६० मेगावाट, १११ मेगावाट रसुवागढी र ४२ दशमलव तीन मेगावाटको तल्लो साञ्जेन र १४ दशमलव आठ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेका हुन्।

मन्त्री पुन, उर्जासचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सम्बन्धित आयोजनाका प्रमुखसहितलाई लिएर रसुुवा पुुगेका थिए। उर्जामा आत्मनिर्भर बनाउन र पेट्रोलियम पदार्थको आयात कम गर्दै जाने लक्ष्यका मन्त्रालयले निर्माणाधीन आयोजनालाई तोकिएको समयमा पूरा गर्न पहल थालेको सरकारी अधिकारीहरुले बताएका छन्।

सरकारी टोलीका अनुसार माथिल्लो त्रिशूली थ्री ए आयोजनाको ७० प्रतिशतभन्दा बढी भौतिक निर्माण सम्पन्न भएको छ । आयोजनाका प्रमुख फणीन्द्रराज जोशीका अनुसार कूल ६० मेगावाट क्षमताको सो आयोजना प्राधिकरणको लगानीमा निर्माण भइरहेको आयोजना हो ।

मन्त्री पुनले शुक्रबार नुवाकोटको बिदुर नगरपालिका वडा नंबर ६ मा नेपालकै सबैभन्दा ठूलो २५ मेगावाटको ग्रीड सोलार प्लान्टको शिल्यान्यास गरेका थिए। सोही दिन देवीघाट जलबिद्युत आयोजनाको निरीक्षण गरे।

यसैगरी, मन्त्री पुनले रसुवाको स्याप्रुबेसीमा रहेको चिलिमे जलबिद्युत आयोजनाको समेत अवलोकन गरे । शनिवार नै उनले निर्माणाधीन१ सय ११ मेगावाट क्षमताको रसुवागढी जलबिद्युत आयोजना र साञ्जेन जलबिद्युत आयोजनाको निरिक्षण गर्दै समयमै काम सक्न आयोजनाका पदाधिकारी तथा ठेकेदार कम्पनीलाई निर्देशन दिए।

पुनले १४ दशमलव ८ मेगावाटको माथिल्लो सान्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन जलबिद्युत आयोजनाको निर्माणथलको पनि अवलोकन गरेका छन्। अनुुगमनका क्रममा मन्त्री पुनले करिव ३ करोड नेपालीलाई जलविद्युत आयोजनाको शेयर दिन नीतिगत व्यवस्था गरिन लागिएको जानकारी दिए।

मन्त्री पुनले जलविद्युत आयोजनाको लाइसेन्स लिने तर, काम अगाडि नबढाउने प्रवृत्तिविरुद्ध सरकार कठोर भएर लाग्ने बताए। उनले जलविद्युत आयोजनाको पीपीए गरेर काम नगर्ने कम्पनीको लाइसेन्स खारेज गर्ने समेत चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस
Advertisement