सबै जनता सेयरधनी बनाउने अभियान : उर्जामन्त्री पुनले सुरु गरे योजना छनौट


काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हरेक नेपालीलाई जलविद्युत आयोजनाको सेयरधनी बनाउन प्रारम्भिक छलफल सुरु गरेको छ । ऊर्जा मन्त्री वर्षमान पुनको अग्रसरतामा मंगलबार सिंहदरबारस्थित उर्जामन्त्रालयमा सरोकारवाला उच्च अधिकारीहरुसहित पहिलो चरणको छलफल सुरु भएको हो ।

मन्त्री पुनले गत बैशाख २५ गते सार्वजनिक गरेको ऊर्जा तथा जलस्रोत क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्रसहितको श्वेतपत्रमा हरेक नेपालीलाई जलविद्युत आयोजनाको मालिक बनाउने उल्लेख छ ।

श्वेतपत्रको बुँदा ५८ मा हिमाल, पहाड, तराई–मधेशका हरेक नेपाली जनतालाई जलविद्युतमा लगानीको अवसर प्रदान गर्दै आर्थिक समृद्धिमार्फत राष्ट्रिय एकता सुदृढ गर्न ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी’ कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्ने उल्लेख छ ।

जनताको सेयर लगानी गर्न करिब ३ हजार ३ सय ९७ मेगावाटका १६ आयोजनाका विषयमा छलफल भएको थियो । यसमा ७ सय २५ मेगावाटको माथिल्लो अरुण, ४ सय मेगावाटको तल्लो अरुण, १ सय १ मेगावाटको तामाकोसी पाँचौं, ४८ मेगावाटको भेरी–बबई डाइभर्सन, २१० मेगावाटको सेती चैनपुर,७० मेगावाटको सिम्बुवा,७५ मेगावाटको ताप्लेजुङको घुन्सालगायत आयोजना छन् । जलविद्युतको सम विकासका लागी सबै प्रदेशमा जलविद्युत आयोजना समेटिने हिसाबले आयोजनाको छनौट प्रक्रियाको थालनी गरिएको छ ।

आयोजना अन्तिम छनोट गर्न निरन्तर छलफल तथा परामर्श गर्ने मन्त्रालयले जानकारी दिएको छ । छलफलमा मन्त्री पुनले निर्देशन दिनुहुंदै छनोट हुने आयोजना नाफाका लागि मात्र नभई सेवाको दृष्टिले निर्माण हुनुपर्ने बताउनुभयो ।

‘गरिब नागरिकको हातहातमा सेयर पुग्नुपर्यो, यसबाट उनीहरुको जीवनस्तर माथि उठ्नुपर्यो,’ मन्त्री पुनले भन्नुभयो, ‘यसरी निर्माण हुने आयोजना नाफाको सुनिश्चित गरेर मात्र निर्माण गरिनेछ ।’

जनताको जलविद्युत आयोजनाहरुको लागि श्रोत व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा समेत मंगलवारको बैठकमा छलफल भएको थियो । उर्जामन्त्रालयअन्र्तगतको जलविद्युत लगानी तथा विकास कम्पनीले आयोजना निर्माणमा लाग्ने अनुमानित लागत, आन्तरीक श्रोतको व्यवस्थापन र ऋण व्यवस्थापनको प्रारम्भिक खाका प्रस्तुत गरेको थियो ।

छलफलमा उर्जामन्त्री पुन, उर्जासचिव अनुपकुमार उपाध्याय, विद्युत विकास विभागका महानिर्देशक नविन सिंह,नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, जलविद्युत लगानी तथा विकास कम्पनीका प्रमुख छविराज पोखरेललगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement