इनर्जी फोरममा ऊर्जामन्त्री : ‘नेपाल दिगो र स्वच्छ ऊर्जाको यात्रामा’


काठमाडौँ–ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्रको विकासका लागि सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यका साथ काम गरिरहेको र निकट भविश्यमा नै फड्को मार्ने बताएका छन्।

सर्बियाको राजधानी बेलग्रडमा जारी ‘यूरो एशियन इनर्जी फोरम’लाई सम्बोधन गर्दै  उनले नीतिगत सुधारमार्फत् ऊर्जा क्षेत्रमा लगानीका लागि निजी क्षेत्रलाई समेत साथमा लिएर अगाडि बढेको र आगामी केही वर्षभित्रैमा ठूलो फड्को मारिने बताए।

‘आगामी तीनदेखि पाँच वर्षभित्र ठूलो फड्को मार्ने अवस्थामा हामी पुगेका छौँ, चार हजार मेगावाट क्षमताका आयोजना निर्माणका विभिन्न चरणमा रहेका छन्, मन्त्रालयले गत वैशाख २५ गते सार्वजनिक गरेको श्वेतपत्रमार्फत् सहजरुपमा काम गर्ने वातावरण बनाइएको छ,’ उनले भने।

मन्त्री पुनले आगामी दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको र त्यसमा दश हजार मेगावाट आन्तरिक खपतका लागि प्रयोग गर्ने र बाँकी पाँच हजार मेगावाट विद्युत् बाह्य व्यापारका लागि उपलब्ध गराउने लक्ष्य राखिएको जानकारी दिए।

यस्तै सरकारले वायु तथा सौर्य ऊर्जालाई समेत विशेष प्राथमिकतामा राखेको र नीतिगत रुपमा समेत सहजीकरण गरिएको जानकारी दिँदै उनलेले पेट्रोलियम पदार्थमा बढ्दै गएको परनिर्भरता अन्त्यका लागि समेत दिगो र स्वच्छ ऊर्जाका लागि जोड दिइएको बताए।

मन्त्री पुनले सरकारले ठूला जलाशयुक्त र अर्धजलाशययुक्त आयोजना निर्माणलाई जोड दिइएको र रणनीतिकरुपमा काम अगाडि बढाइएको उल्लेख गर्दै सरकारी, निजी क्षेत्र र नागरिकको लगानीमा ठूला परियोजनासमेत अगाडि बढाइएको बताए।

आन्तरिक तथा क्षेत्रीय बजारको खोजी तथा सम्पर्क सञ्जालको विस्तारमा समेत जोड दिइएको, बहुपक्षीय क्षेत्रीय मञ्चमार्फत् सहकार्यको ढोका खोलिएको बताउँदै उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) इनर्जी फ्रेपवर्क, बिम्स्टेक पावर ग्रीड निर्माण गर्नेसम्बन्धी सहमति भएको जानकारी दिए।

मन्त्री पुनले अन्तरदेशीय प्रसारण लाइनको निर्माण गर्ने विषयसमेत प्रमुख प्राथमिकतामा रहेको स्पष्ट पार्दै नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता भएको, प्रसारण प्रणालीको विस्तार तथा विकासमा जोड दिइएको, केही अन्तरदेशीय प्रसारण प्रणाली निर्माण भएको र केही प्रक्रियामा अगाडि बढेको धारणा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस
Advertisement