इजरायली विकास नियोगका प्रमुख र उर्जामन्त्रीबीच भेटवार्ता


काठमाडौं – उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन ‘अनन्त’ र इजरायली विकास नियोग मसाभका प्रमुख गील हसकेलबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्धिपक्षिय सहयोगका साथै आपसी हितको विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री पुनले सरकारले पाँच वर्षमा पाँच हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य लिएको भन्दै खपतको लागी आन्तरिक र बाह्य बजार तयार रहेको जानकारी दिए । उनले उर्जा, जलविद्युत र सौर्य उर्जामा इजरायली लगानीकर्तालाई लगानीका लागी प्रेरित गरिदिन आग्रह गरे ।
‘नेपालमा प्रशारण लाइन, जलविद्युत र सोलारमा पनि सहकार्य गर्न अवसर छ, इजरायली लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागी प्रेरित गरिदिन आग्रह गर्छु ।’ मन्त्री पुनले भने ।

मन्त्री पुनले नेपाल विद्युत प्राधिकरण र विभिन्न सरकारी कम्पनीहरु मातहत १२ हजारभन्दा बढी कर्मचारी भएको भन्दै तालिम र क्षमता अभिवृद्धिका कार्यक्रममा सहकार्य गर्न सकिने धारणा राखे ।

भेटमा विकास नियोग मसाभका प्रमुख हसकेलले स्मार्ट ग्रिड, पावर स्टेशन र स्मार्ट सोलुशनको क्षेत्रमा काम गर्न इजरायल इच्छुक रहेको बताए । छलफलमा उर्जामन्त्रालय मातहतका कर्मचारीलाई तालिम र क्षमता अभिवृद्धिका लागी सहयोग गर्न सकिने बिषयमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement