बुढीगण्डकी बनाउन गेजुवासँग कुनै सम्झौता भएको छैन : उर्जामन्त्री पुन


काठमाडौं – उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत् आयोजनामा अनियमितता भएको भन्दै बाहिर मिडियामा आएको कुराको कुनै सत्यता नभएको दाबी गरेका छन् ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले बाहिर मिडियामा आएको कुराको कुनै सत्यता नभएको बताए ।

‘अहिले सरकारले सोचेको इपिसियस मोडालिटीमा काम अगाडि बढाउने कि भनेर छलफल सुरु गरेका छौं, यसमा कुनै पनि सम्झौता भएको छैन’ उनले भने, ‘हामी उपयुक्त मोडालिटीमा अगाडि बढ्छौं । र त्यसकारण यसलाई कुनै भकुण्डो बनाउने, चलखेल, कुनै अनियमितताको कुरा सोह्रै आना झुट हुन् । बाहिर मिडियामा आएको कुराको कुनै सत्यता छैन ।’

त्यस्तै उनले अहिलेसम्म निर्माणको जिम्मा कसैलाई नदिएको पनि स्पष्ट पारे । विपक्षी दलका सांसदहरुले कांग्रेस नेतृत्वको सरकारले बुढीगण्डकी आयोजना नेपालकै लगानीमा गर्ने निर्णय गरेको स्मरण गराउदै फेरि किन चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय गरेको भन्ने प्रश्नमा मन्त्री पुनले सो कम्पनीसँग पाँच महिना अघि ३ चरणमा छलफल भएपनि निर्माण गर्ने गरि कुनै सम्झौता नभएको स्पष्ट पारेका छन् । उनले गेजुवालाई निर्माणको जिम्मा दिने भन्दै मिडियामा आएको समाचारमा सत्यता नभएको पनि दाबी गरे ।

आगामी आर्थिक वर्षमा सरकारले आयोजनाका लागि छुट्याएको बजेट बाँकी मुआब्जा वितरणका लागि मात्रै भएको र राष्ट्रिय गौरवका आयोजनालाई राष्ट्रिय हितमा नै प्रयोग गर्ने स्पष्ट पारे ।

उनले बुढीगण्डकी आयोजनाका लागि पेट्रोलमा लगाएको ५ रुपैयाँ करबाट ३० अर्ब संकलन भएकोमा २५ अर्ब आयोजनाको मुआब्जा वितरणमा खर्च भइसकेको बताए । १ खर्ब जति मुआब्जा वितरण गर्नुपर्ने अनुमान अनुसार कर संकलनबाट नै सो रकम परिपुर्ति हुने अनुमान सरकारले लिएको पनि उनले स्पष्ट पार े।

उनले हाल पिक आवरमा भारतबाट ५ सय मेगावाट विद्युत् आयात भइरहेको भएपनि नेपालले आगामी वर्ष देखिनै विद्युत् निर्यात गर्ने र ५ वर्षपछि पुर्ण रुपमा निर्यात मात्रै गर्ने मुलुकको रुपमा स्थापित हुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement