विद्यत् उत्पादन सुनिश्चितता : ऊर्जामन्त्रीले ठड्याएको समृद्धिको मजबुत पिल्लर


काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले बैशाख २५ गते श्वेतपत्र जारी गर्दै १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने घोषणा गरे । तत्कालीन परिस्थितिमा अस्वभाविक लाग्ने विद्युत् उत्पादनको सुनिश्चितता पत्यारलाग्दो बन्दै गएको छ । उर्जामन्त्री पुनले गरिरहेका केही नीतिगत व्यवस्थाले विद्युत् उत्पादन सुनिश्चित हुँदै गएको छ ।

निजी क्षेत्रबाट विद्युत् उत्पादन गर्ने कम्पनी अर्थात् ऊर्जा प्रवद्र्धकसँग विद्युत् प्राधिकरणले अनिवार्य विद्युत् खरिद गर्ने सुनिश्चित दिएपछि विद्युत् उत्पादन पनि सुनिश्चित भएको हो । विद्युत् बेच्ने बजारको अन्योलबीच निजी क्षेत्रका लगानीकर्ता जोखिम मोल्न डराइरहेका थिए, बैंकहरू जलविद्युत् परियोजनामा लगानी गर्न जोखिम देखिरहेका थिए । तर अब निजी क्षेत्रले विद्युत् प्राधिकरणसँग सम्झौता गरेर विद्युत् उत्पादन गरेमा बजार सुनिश्चित भएको छ ।

उर्जा मन्त्रालयले ऊर्जा प्रवद्र्धकसँग विद्युत् खरिद सम्झौता ‘टेक अर पे’ अर्थात् विद्युत् किन्नैपर्ने गरी सम्झौता गर्ने निर्णय गरेको छ । यसअघि ‘टेक एण्ड पे’ अर्थात् किन्न पनि सक्ने वा नकिन्न पनि सक्ने गरी सम्झौता हुने गरेको छ । पूरानो व्यवस्था अनुसार विद्युत् प्राधिकरणले विद्युत् नकिनेको अवस्थामा उत्पादन खेर जाने र घाटा लाग्ने डर ऊर्जा प्रवद्र्धकमा थियो ।

आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनलाई सघाउन विद्युत् प्राधिकरणको बोर्ड बैठकले विद्युत् खरिद सम्झौता ‘टेक अर पे’मा गर्ने निर्णय गरेको हो । सम्झौता अनुसार विद्युत् खरिद गर्दा आइपर्ने वित्तीय जोखिमलाई नेपाल सरकारले बहन गर्ने समेत सुनिश्चित भएको छ ।

मन्त्री पुनको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०८४\८५ सम्ममा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई आधार मान्दै ५ हजार २ सय ५० मेगावाटसम्म ‘रन अफ रिभर’ प्रकृतिका आयोजनाको ‘टेक अर पे’मा विद्युत् खरिद सम्झौता निर्णय गरेको छ ।

मन्त्रालयमा बसेको बैठकले प्राधिकरणलाई ‘टेक एण्ड पे’मा गरेको सम्झौतालाई पनि संशोधन गरेर ‘टेक अर पे’मा गर्न भनेको छ । ‘टेक अर पे’मा आधारित खरिद सम्झौता भएका आयोजनाको विद्युत् प्राधिकरणले किन्नैपर्छ । किनेको विद्युत् खपत गर्ने दायित्व प्राधिकरणको हुनेछ ।

विद्युत् उत्पादनमा प्रोत्साहन गर्न र जोखिम न्यूनीकरणका लागि निजी क्षेत्रका ऊर्जा उत्पादकले लामो समयदेखि विद्युत् खरिद सम्झौता ‘टेक अर पे’ आधारमा गर्न माग गर्दै आइरहेका थिए । ऊर्जा प्रवद्र्धकको जोखिम कम हुने भएपछि अब विद्युत् आयोजना निर्माणका लागि सहजै ऋण प्राप्त हुने र १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन हुने मन्त्रालयले विश्वास लिएको छ ।

१० वर्षभित्रै व्यापारिक उत्पादन गरिसक्नुपर्ने
‘टेक अर पे’ अनुसारको सम्झौतामा विद्युत् बिक्री गर्न चाहने ऊर्जा प्रवद्र्धकले १० वर्षभित्र अर्थात् आर्थिक वर्ष २०८४\८५ भित्र व्यापारिक उत्पादन शुरू गर्नुपर्नेछ । तोकिएको अवधिभित्र उत्पादन शुरू गरेमा विद्युत् प्राधिकरण विद्युत् खरिद गर्न बाध्य हुने छैन ।
विद्युत् उत्पादन ढिला गरेमा ‘टेक अर पे’ सम्झौता भएपनि ‘टेक एण्ड पे’को प्रावधान कार्यान्वयन हुनेछ । यस्तो प्रावधानले उत्पादकलाई तोकिएको अवधिभित्रै विद्युत् उत्पादन गरिसक्न दबाब पर्नेछ । जसले गर्दा १० वर्षभित्र स्वदेशी उत्पादन बढ्ने छ ।

विद्युत्मा आत्मनिर्भर हुने बाटो
विद्युत् खरिद सम्झौताको नयाँ व्यवस्थाले नेपाल विद्युत् उत्पादनमा आत्मनिर्भर हुने बाटोतिर जानेछ । हाल भारतबाट विद्युत् खरिद गर्ने विद्युत् खपत हुने गरेको छ । ‘लोडसेडिङमुक्त नेपाल’ कार्यान्वयनका लागि भारतबाट विद्युत् आयात गरिन्छ ।

भारतबाट विद्युत् आयात गर्दा व्यापार घाटा बढ्ने र नेपाली बजेट बाहिरिने अवस्था रहेको छ । १० वर्षभित्र विद्युत् उत्पादन बढेमा अवस्था फेरिने छ । नेपाललाई विद्युत् उत्पादनमा आत्मनिर्भर बनाउन ऊर्जामन्त्री पुनले नयाँ व्यवस्था कार्यान्वयनमा लगेका हुन् ।

उर्जामन्त्री पुनले विद्युत् खरिद सम्झौता सँगसँगै विद्युत् व्यापार सम्झौता समेत गरेका छन् । ऊर्जा प्रवद्र्धकसँग विद्युत् प्राधिकरणले खरिद गरेको विद्युत् बंगलादेशसँग बिक्री गर्ने गरी सम्झौता भइसकेको छ । थप अध्ययन गर्न दुवै देशका विज्ञ समितिहरू सक्रिय छन् । विद्युत् उत्पादन बढाएर बंगलादेश लगायतका देशमा विद्युत् बिक्री गर्न सकेमा विदेशी मुद्रा आयात गर्न सकिने छ ।

समृद्धिको मजबुत पिल्लर
केही महिनाअघि साझा यातायातले भित्र्याएको विद्युतीय बसको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अब चुल्हो–चुल्होमा विद्युत्का तार पुर्याउने’ घोषणा गरेका थिए । ग्याँसको पाइपलाइन पुर्याउने तरिका पूरानो भएको भन्दै प्रधानमन्त्री ओलीले बिजुलीको तार पुर्याउने बताएका हुन् ।

खाना पकाउने ग्याँसका लागि हाल भारतमा निर्भर हुनुपरेको र व्यापार घाटा बढेको अवस्था छ । तर विद्युत् उत्पादन बढाएर खाना पकाउन लगायत ऊर्जा खपत हुने ठाउँमा विद्युतीय उर्जा खपत गर्न सकेमा देशलाई धेरै फाइदा हुनेछ । घरमा खाना पकाउनेदेखि ठूल्ठूला औद्योगिक क्षेत्रसम्ममा विद्युत् आवश्यक पर्ने भएकाले विद्युत् उत्पादन बढाउनु प्रमुख चुनौती बनेको छ ।

उत्पादन बढाउन ‘टेक अर पे’ विद्युत् खरिद सम्झौताले भूमिका खेल्ने छ । जसबाट नेपाललाई आवश्यक पर्ने विद्युत् स्वदेशमै उत्पादन गरेर हरेक क्षेत्रमा खपत बढाउन सकिने छ । चुल्हो–चुल्होमा बिजुलीका तार पुर्याउन सकिने छ । विद्युत्को सुविधा नपुगेका गाउँबस्तीमा विद्युत् सुविधा विस्तार गर्न सकिने छ ।

चुनावमा लोकप्रिय मत दिन सफल भएको ‘समृद्धि’को नारा कार्यान्वयनमा ऊर्जा क्षेत्रको योगदानको समेत महत्त्वपूर्ण हिस्सा हुन्छ । विद्युत् उत्पादन बढाएर इन्धन आयात घटाउनेदेखि औद्योगिक विकास गर्नेसम्म सम्भव छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement