नीतिगत रुपमा लगानीको वातावरण बनाउने सरकारको प्रयासलाई साथ दिनुहोस् : मन्त्री पुन


काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विभिन्न विकासका काममा अवरोध नपुर्याउन आग्रह गरेका छन् । काठमाडौँमा भएको जलविद्युतसम्बन्धी एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले पछिल्लो समय विभिन्न आयोजनामा स्थानीयले अनुचित लोभ देखाउँदा लगानीमैत्री वातावरण बिग्रिएको भन्दै विकासमा अवरोध हुन नदिन सबैमा आग्रह गरेका हुन् ।

कुनै नयाँ आयोजना गाउँमा आउनासाथ धेरै भन्दा धेरै पैसा निकाल्नुपर्छ, स्कूल भवन, बाटो, सडक बनाउ भनेर दुःख दिँदा लगानीकर्ता निराश भएर भाग्ने आवस्था आउन नदिन स्थानीय नै सजग हुनुपर्ने बताए । केन्द्रीय सरकार वा स्थानीय सरकारले नीतिगत रुपमा लगानीको वातावरण बनाउने प्रयासलाई स्थानीय जनताले व्यावहारिक रुपमा विकासमैत्री लगानीमैत्री वातावरण बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा मन्त्री पुनले आयोजना निर्माणकर्ता र लगानीकर्ताले स्थानीयसँग समन्वय गरेर निर्माण प्रक्रिया अगाडि बढाउन आग्रह गरे । आयोजनाहरुको सार्वजनिक सुनुवाइ नाम मात्रको गर्ने, प्रभावित जनता बसेको स्थानमा नगर्ने, वातावरणीय प्रभाव मूल्यांकन हचुवाको भरमा गर्ने, स्थलगत अध्ययन र स्थानीयको सहभागिता नराखी गरिने भन्दै मन्त्री पुनले आयोजना निर्माण पक्षले सरकारले तोकेको र गर्नु भनेको सम्पूर्ण काम वास्तविक रुपमा गर्न आग्रह गरे ।

तोकेको प्रक्रियाले स्थानीयमा अपनत्व बढाउने भएकोले स्थानीयलाई साथमा लिनुको विकल्प नरहेको बताए । मन्त्री पुनले मोदी खोलाका जलविद्युत् आयोजनाहरुले परेको वातावरणीय प्रभाव मूल्यांकनसम्बन्धी प्रतिवेदन पनि सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement