आफ्नै नातेदार भएपनि काम नगर्नेलाई जिम्मेवारी दिन्न :  उर्जामन्त्री पुन


काठमाण्डौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले जनतालाई जलविद्युतमा जोड्ने गरी कार्यक्रम ल्याउने बताउनुभएको छ । समृद्धिको आधार जलविद्युत भएको भन्दै मन्त्री पुनले त्यसका लागी छिट्टै नयां कार्यक्रम ल्याउने घोषणा गर्नुभएको छ ।

सिंचाई दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आईतबार सम्बोधन गर्दैै मन्त्री पुनले नेपालको पानी जनताको लगानी भन्ने नारा भएपनि जनतालाई जलविद्युतमा नजोडिएको बताउनुभयो ।

उहाले परिवर्तनलाई आत्मसाथ गरेर अघि बढ्न मातहतका कर्मचारीलाई निर्देशन समेत दिनुभएको छ । ‘देशमा नयां व्यवस्था लागु भएको छ,यसलाई सफल बनाउने दायित्व तपाई हामी सबैको हो,तपाईहरुले ईमान्दारीतपुर्वक सरकारको निर्देशन पालना गर्नुहोस् ।’ मन्त्री पुनले कार्यक्रममा भन्नुभयो ।

उहाले मुलुकको समृद्धी शुसासन कायम गरेर मात्र आउने भन्दै सवै कर्मचारीले कार्यशैली परिवर्तन गर्न जरुरी रहेको समेत बताउनुभयो ।‘तपाईहरुले आफ्नो आनिवानी र कार्यशैली परिवर्तन गर्नुहोस्,अहिले हाम्रो सामु काम गरेर देखाउनुपर्ने चुनौती छ ।’ मन्त्री पुनले भन्नुभयो ।

माओवादी केन्द्रका नेता समेत रहनुभएका उर्जामन्त्री पुनले कर्मचारी संगठन र निकट व्यक्तिमार्फत आउनेलाई भन्दा काम गरेर देखाउनेलाई आफुले जिम्मेवारी दिने बताए ।

‘काम नगर्ने कर्मचारी निकट भएर केही हुन्न,मेरो नजिकको आफन्त भएपनि काम गर्दैन् भने त्यसको कुनै अर्थ छैन्, काम गरेर परिणाम दिने कर्मचारीलाई मैले कामको जिम्मा दिन्छु ।’ मन्त्री पुनले भन्नुभयो ।

उहाले सिंचाईको क्षेत्रमा नयां–नयां प्रविधी आएको भन्दै त्यसको उपयोग गर्नुपर्ने धारणा समेत राख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement