यूएस-बङ्ला विमान दुर्घटनामा ५१ जनाले ज्यान गुमाएको त्यो दिन


काठमाडौँ – त्रिभूवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा युएस–बंगला विमान दुर्घटना भएको एक वर्ष पुगेको छ । सो विमान दुर्घटनामा ५१ जनाले ज्यान गुमाएका थिए । गत वर्ष आजकै दिन अर्थात् फागुन २८ गते युएस-बंगला एयरलाइन्सको विमान अवतरणको क्रममा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा विमानमा सवार ६७ यात्रु र चालक दलका चार सदस्य मध्ये ४७ यात्रु र चालक दलका चार सदस्य गरि ५१ जनाको ज्यान गएको थियो ।
बंगलादेशको राजधानी ढाकामा रहेको शाहजलाल अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट उडेको सो विमानमा ३३ नेपाली, बंगलादेशी ३२ र चालक दलका चार तथा चीन र माल्दिभ्सका एक–एकजना यात्रु सवार थिए ।

दुर्घटनाको बाह्र दिनपछि विमानका प्रमुख चालक क्याप्टेन अविद सुल्तानकी श्रीमती अफ्साना खानमको उपचारको क्रममा ढाकामा मृत्यु भएको थियो । दुर्घटनाको खबर सुनेपछि विरामी परेकी उनको न्यासनल इन्स्टिच्यूट अफ न्यूरो साइन्सेज अस्पतालमा उपचार चलिरहेको थियो ।

‘क्याप्टेन तनावग्रस्त र थकित’
दुर्घटनाको छानविन गर्न गठित आयोगले भएका झण्डै एक वर्षपछि प्रतिवेदन बुझाएको छ । पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा गठित छ सदस्यीय आयोगले विमानका क्याप्टेन सुल्तान मानसिक रुपमा एकदमै तनावग्रस्त र थकित रहेको निश्कर्ष निकालेको छ ।आफैले प्रशिक्षित गरेका एक जना सहचालकले उनलाई ‘दक्ष उडान प्रशिक्षक नभएको’ भनेपछि ५२ वर्षीय सुल्तान तनावमा परेको प्रतिवेदनमा उल्लेख छ ।

आयोगले गत माघमा सरकारलाई बुझाएको प्रतिवेदनअनुसार क्याप्टेन सुल्तान उडानका बेलामा पनि अनावश्यक, गैर-व्यावसायिक र लामो संवाद गरिरहेका थिए । समितिका एक सदस्यका अनुसार उनी उडानका बेलामा निकै हतास र अस्थिर मानसिकतामा देखिएको अनुमान लगाउन सकिन्छ । चालक दलका सदस्यहरूले रक्सी वा अन्य नशालु पदार्थ सेवन गरेको भने नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement