अमेरिकासँग व्यापार युद्ध सुरु, चीन र क्यानडाले दिए यस्तो चेतावनी

अमेरिकासँग व्यापार युद्ध सुरु, चीन र क्यानडाले दिए यस्तो चेतावनी


काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अतिरिक्त कर लगाउने घोषणाको चीन र क्यानडाले विरोध गरेको छ । शनिबार अमेरिकी राष्ट्रपति ट्रम्पले चीनमाथि १० प्रतिशतसहित क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशत शुल्क लगाउने घोषणा गरेका थिए । त्यसविरुद्ध चीन र क्यानडाको प्रतिक्रिया आएको हो । मेक्सिकोले पनि प्रतिशोधात्मक कारबाही गर्ने बताएको छ ।

चिनियाँ वस्तुमाथि १० प्रतिशत शुल्क लगाउने ट्रम्पको आदेशपछि चीनले अमेरिकाविरुद्ध जबाफी कारबाही गर्ने चेतावनी दिएको छ । चीनको वाणिज्य मन्त्रालयले भनेको छ, ‘चीन यस कदमबाट पूर्ण रूपमा असन्तुष्ट छ र यसको कडा विरोध गर्दछ ।’ चीनले यसलाई विश्व व्यापार संगठनको नियमको गम्भीर उल्लंघन भएको पनि उल्लेख गरेको छ ।

चीनले अमेरिकाले उठाएको यो कदम चीन र अमेरिकाबीचको सामान्य आर्थिक तथा व्यापारिक सहयोगका लागि हानिकारक हुने चेतावनी पनि दिएको छ । चीनले अब अमेरिकाको गलत व्यवहारविरुद्ध विश्व व्यापार संगठनमा मुद्दा हाल्ने र आफ्नो अधिकार र हितको रक्षा गर्न प्रतिकारात्मक कदम चाल्ने स्पष्ट पारेको छ । बेइजिङले वासिङ्टनलाई मतभेद छोडेर पारस्परिक लाभ, सम्मान र समानताको आधारमा सहयोगलाई बलियो बनाउन काम गर्न सुझाव दिएको छ ।

यस्तो छ क्यानडाको जवाफ

अमेरिकाले क्यानडामाथि २५ प्रतिशत शुल्क लगाउने गरेको घोषणाको विरोध गर्दै क्यानडाले पनि अमेरिकी वस्तुमाथि २५ प्रतिशत शुल्क लगाउने जवाफ दिएको छ ।

क्यानडाका कार्यवाहक प्रधानमन्त्री जस्टिन ट्रुडोले १५५ अर्ब डलर बराबरको अमेरिकी आयातमा २५ प्रतिशत ट्यारिफल लगाउने घोषणा गरेका हुन् ।

क्यानडाबाट आयात हुने प्राकृतिक ग्याँस र बिजुलीसहितका ऊर्जामा भने १० प्रतिशत मात्र ट्यारिफ लगाउने निर्णय अमेरिकाले गरेको छ ।

क्यानडाका कार्यवाहक प्रधानमन्त्री ट्रुडोले अमेरिकाको ट्यारिफ सामना गर्न तयार रहेको बताएका हुन् । उनले प्रेस ब्रिफिङमा भनेका छन्, ‘हामी यस्तो चाहँदैनथ्यौं । ट्यारिफले केही वर्ष अगाडि भएको मुक्त व्यापार सम्झौताको उल्लंघन गर्दछ । तर यसको सामना गर्न क्यानडा तयार छ ।’ उनले अमेरिकाको यो निर्णयले अमेरिकी नागरिकलाई नै असर गर्ने पनि बताएका छन् ।

अमेरिका क्यानडाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । क्यानडाले अमेरिकाबाट मुख्य गरी मोटरगाडी र तिनीहरुका पार्टपुर्जा, मेसिनरी उपकरण, तेल तथा ग्याँस, औषधि तथा मेडिकल उपकरण, कृषि उत्पादन, प्लास्टिकका सामग्री, दूरसञ्चार उपकरण, फर्निचर तथा घरायसी सामग्री आयात गर्दछ ।