काठमाण्डु – अमेरिका विदेशमन्त्री मार्को रुबियोले नेपालको संविधान दिवसका अवसरमा नेपाल र नेपाली जनतालाई बधाई दिएका छन् ।
अमेरिकी विदेश मन्त्रालयले जारी गरेको प्रेस वक्तव्यमा रुबियोले सेप्टेम्बर १९ मा मनाइने संविधान दिवसका अवसरमा नेपालका जनतालाई अमेरिकाको तर्फबाट बधाई दिएका हुन् ।
रुबियोले हालैको बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गर्दै उद्धार तथा पुनःस्थापनाका प्रयासमा अमेरिकाको साथ रहने पनि बताएका छन् ।
‘हालैको आकस्मिक बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति हाम्रो सहानुभूति र प्रार्थना छ । यस त्रासदीबाट प्रभावित हाम्रा अमेरिकी नागरिकहरूप्रति पनि हाम्रो चासो छ । खोजी, उद्धार तथा पुनःस्थापनाका प्रयास जारी रहँदा संयुक्त राज्य अमेरिका नेपालसँगै शोकमा सहभागी छ र पुनःस्थापनाका प्रयासलाई सहयोग गर्न प्रतिबद्ध छ,’ रुबियोले वक्तव्यमा भनेका छन् ।
उनले अमेरिका–नेपाल सम्बन्ध करिब ८० वर्ष लामो रहेको उल्लेख गर्दै आगामी दिनमा व्यापार, नवप्रवर्तन र लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्दै साझेदारी थप सुदृढ गर्ने बताएका छन् ।
‘अमेरिका–नेपाल सम्बन्ध करिब ८० वर्ष लामो छ र आगामी दिनमा व्यापार, नवप्रवर्तन तथा लगानीसम्बन्धी सम्बन्ध विस्तार गर्दै दुवै देशलाई लाभ पुग्ने गरी आफ्नो साझेदारीलाई थप सुदृढ गर्न संयुक्त राज्य अमेरिका इच्छुक छ,’ रुबियोले भनेका छन् ।





प्रतिक्रिया