अमेरिकाबाट थप ४० नेपाली डिपोर्ट हुँदै

अमेरिकाबाट थप ४० नेपाली डिपोर्ट हुँदै

चार्टर्ड विमानबाट आज काठमाडौं आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकाबाट डिपोर्ट भएका थप ४० नेपालीहरू आइतबार काठमाण्डु फर्किदै छन्। उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाण्डु ल्याउँदैछ ।

नेपाली सवार अमेरिकी चार्टर्ड विमान आइतबार अपराह्न सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपालको अध्यागमन कार्यालयले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता एवम् वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरु अपराह्न आउन लागेको पुष्टि गरे पनि संख्या भने एकिन नरहेको बताएका छन् ।

१०–१२ दिन अगाडि नै नेपालीहरुलाई डिपोर्ट गरिएको पत्र आए पनि संख्या यकिन भइनसकेको प्रवक्ता न्यौपानेले बताए । अमेरिकाले डिपोर्ट गरेका नेपालीहरुको संख्या कम्तिमा ४० जनासम्म हुन सक्ने अध्यागमनको अनुमान छ । सुरुमा ४८ जना नेपालीलाई डिपोर्ट गर्ने तयारी गरिए पनि पछि केही नेपालीहरू रोकिएकाले संख्या थोरै कम हुनसक्ने अनुमान गरिएको छ ।

अमेरिकाले चार्टर्ड गरेको विमान डिपोर्ट गरिएका विभिन्न देशका नागरिकहरुलाई छाड्दै–छाड्दै काठमाण्डु आएर फर्किने छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो पटक सत्ता सम्हालेपछि अमेरिकी सरकारले आप्रवासीहरूमाथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरुकै देश फर्काइरहेको छ । अमेरिकी सरकारको सोही नीति अनुसार नेपालीहरुलाई पनि डिपोर्ट गर्दै आएको छ ।

ट्रम्प दोस्रो पटक राष्ट्रपति बनेपछि सन् २०२५ को जनवरी २० देखि मे महिनाको अवधिमा १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ । अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरुको संख्या बढ्दो छ ।

जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ । डिपोर्ट भएकाहरूलाई मानव बेचबिखन नियन्त्रण ब्युरोले सामान्य सोधपुछ गरेर घर जान दिने गरेको छ । दलालविरुद्ध कसैले उजुरी दिए मात्र अनुसन्धान प्रक्रिया सुरु हुने गरेको छ ।