अमेरिकी परियोजना स्थगित भएको भन्दै यूएसएआईडीले लेख्यो अर्थलाई पत्र

अमेरिकी परियोजना स्थगित भएको भन्दै यूएसएआईडीले लेख्यो अर्थलाई पत्र


काठमाण्डु- अमेरिकाले ९० दिनका लागि विदेशी अनुदान स्थगित गर्ने निर्णय गरेसँगै अमेरिकी सहयोग नियोग (यूएसएआईडी) ले नेपालमा सञ्चालित सबै परियोजना स्थगन गर्न पत्र पठाएको छ ।

यूएसएआईडीले अर्थ मन्त्रालयलाई पनि पत्र लेखेर अनुदानमा सञ्चालित सबै कार्यक्रम तत्कालका लागि स्थगित भएको जानकारी दिएको छ ।

पत्रमा यूएसएआईडी र नेपालको सम्झौताअनुसार सञ्चालित स्वास्थ्य, शिक्षा, कृषि र समावेशी नीतिसहित मुख्यतः चार क्षेत्रका कार्यक्रम तत्काल निलम्बित भएको उल्लेख छ ।

पत्रमार्फत राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय कार्यान्वयनका लागि अहिलेलाई ९० दिनका लागि अनुदान निलम्बन गरिएको जानकारी दिए पनि पनि त्यसपछि के हुन्छ भन्ने उल्लेख छैन ।

गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले यूएसएआईडीले पठाएको विदेशी सहायता स्थगन सम्बन्धी पत्र प्राप्त गरेको जानकारी दिए ।

पत्रमा ९० दिनका लागि सबै कार्यक्रम रोक्न भनिएको छ । यसले नेपालमा अमेरिकी अनुदानका परियोजना सञ्चालन गरिरहेका झन्डै ४ सय संस्था प्रभावित हुने महासचिव सुवेदीले जानकारी दिए । यसबाट स्वास्थ्य, शिक्षा, जलवायु परिवर्तनका कार्यक्रम प्रभावित हुनेछन् ।

अमेरिकामा नयाँ सरकार आउँदा अघिल्ला कार्यक्रमहरूको लगानीमा प्रभावकारिता हेर्नु स्वाभाविक भएको र पत्रमा कार्यक्रमहरू खारेज नभनी स्थगित भनेकाले पछि अनुदानले निरन्तरता पाउने सम्भावना रहेको अध्यक्ष सुवेदीको भनाइ छ ।

यूएसएआईडीको पत्रमा तालिम, सामान किनमेल, समुदायका लागि सञ्चालित कार्यक्रम लगायत स्थगन गर्न भनिएको छ । राष्ट्रपतिमा डनल्ड ट्रम्पले पद सम्हाले लगत्तै अमेरिकाले तत्कालका लागि वैदेशिक अनुदान रोक्ने निर्णय गरेपछि विश्वभर नै तरंग उत्पन्न भएको छ । अब ९० दिनको समीक्षापछि अनुदान स्थगन गर्ने वा निरन्तरता दिने भन्ने विषय अमेरिकी सरकारले टुंगो लगाउने छ । अमेरिकाले सन् २०२३ मा ७२ अर्ब डलर वैदेशिक अनुदानमा खर्च गरेको थियो ।

अमेरिकाले नेपाललाई बजेटमा समावेश हुने गरी (बजेटरी) र बजेटभन्दा बाहिर खर्च गर्ने गरी (गैरबजेटरी) माध्यमबाट अनुदान दिँदै आएको छ  । धेरै अनुदान यूएसएआईडीमार्फत आउने गर्छ ।

नेपालमा पूर्वाधारसम्बन्धी कार्यक्रमका लागि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत आइरहेको अनुदान छुट्टै हो । अमेरिकाबाट प्राप्त अनुदान नेपालमा सुशासन, मानव विकास, विपद् सुरक्षण तथा पूर्वतयारी, पूर्वाधार निर्माण, शिक्षा तथा स्वास्थ्य र जनसंख्या क्षेत्रअन्तर्गत मातृ तथा शिशु स्वास्थ्य र परिवार नियोजन, एचआईभी एड्स, पानी आपूर्ति तथा सरसफाइ, आधारभूत स्वास्थ्यलगायत क्षेत्रमा प्रयोग हुँदै आएको छ ।

देशको वित्तीय सुधार, प्रशासन सुधारलगायत क्षेत्रमा पनि अमेरिकी अनुदान खर्च हुँदै आएको छ । कृषि क्षेत्रतर्फ कृषि नीति तथा प्रशासन व्यवस्थापनमा अमेरिकी अनुदानको ठूलो रकम उपयोग भइरहेको छ ।