अमेरिकाले खारेज गर्‍यो नेपालीलाई टीपीएस सुविधा, साढे ७ हजार नेपाली जोखिममा

अमेरिकाले खारेज गर्‍यो नेपालीलाई टीपीएस सुविधा, साढे ७ हजार नेपाली जोखिममा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकाले विभिन्न देशका नागरिकलाई दिंदै आएको ‘टेम्पोररी प्रोटेक्टेड स्टाटस’ अर्थात् अस्थायी संरक्षित स्थिति (टीपीएस) खारेज गरेको छ ।

अमेरिकी गृह सुरक्षा विभागले विभिन्न देशका नागरिकसँगै नेपाली नागरिकको पनि टीपीएस खारेज गरेको छ ।

टीपीएस खारेज भएसँगै अमेरिकामा बस्दै आएका नेपालीहरुले ६० दिनभित्र स्वैच्छिकरुपमा अमेरिका छोड्नुपर्नेछ वा अन्य वैकल्पिक कानुनी मार्ग अपनाउनुपर्नेछ ।

गृह सुरक्षा विभागले नेपाली नागरिकहरूका लागि टीपीएस सुविधा कायम राख्नुपर्ने कानुनी आधार नरहेको भन्दै खारेज गने निर्णय भएको जनाएको छ ।

टीपीएस सुविधाअन्तर्गत अमेरिकामा रहेका विभिन्न देशका योग्य नागरिकले निश्चित अवधिसम्म बस्न तथा काम गर्न पाउने र देशनिकालाबाट अस्थायी सुरक्षा पाउने व्यवस्था थियो ।

तर अब यो सुविधा खारेज भएपछि अन्य कुनै वैध आप्रवासन हैसियत नभएका व्यक्तिले अमेरिका छाड्नुपर्ने अवस्था आएको छ । टीपीएस सुविधा लिएर अमेरिका बसेका नेपालीहरुलाई यो निर्णयले जोखिम सिर्जना भएको छ ।

नेपाल नागरिकसँगै हाइटी, सिरिया, यमन, अफगानिस्तान, क्यामरुन, होन्डुरस, निकारागुवा, भेनेजुएला, दक्षिण सुडान, म्यानमार, सोमालिया र इथियोपिया लगायतका देशका नागरिकका लागि टीपीएस सुविधा खारेज भएको हो ।

अमेरिकी गृह सुरक्षा सचिव क्रिष्टी नोमले अमेरिकी सरकारका निकायहरुले नेपालको वर्तमान अवस्थाको बारेमा दिएको सुझावलाई मनन गरी नेपाललाई टीपीएस सुविधा दिइरहनुपर्ने आवश्यकता नभएकोले सो खारेज गरेको बताएका छन् ।

प्राकृतिक विपत्ति, सशस्त्र द्वन्द्व र महामारी जस्ता कारणले आफ्नो देशबाट भागेर आएका वा ल्याइएका आप्रवासीहरुलाई अमेरिकाले अस्थायी रुपमा काम गर्ने गरी अनुमति टीपीएस दिने गरेको छ ।

सन् २०१५ अर्थात् २०७२ सालको नेपालमा गएको भूकम्पअघि वैध वा अवैध रुपमा अमेरिकामा बसोबास गरिरहेका नेपाली आप्रवासीहरुलाई अमेरिकाले टीपीएसको सुविधा दिएको थियो । त्यस यता थुप्रै नेपालीहरुले टीपीएस सुविधा पाएर काम गर्दै आएका थिए ।

के हो टीपीएस ?

सन् २०१५ को अप्रिलमा नेपालमा गएको विनाशकारी भूकम्पपछि त्यस बेला अमेरिकामा रहेका तर लामो समय बस्ने कानुनी आधार नभएका नेपालीलाई सहयोग होस् भनेर अमेरिकाले टीपीएस सुविधा उपलब्ध गराएको थियो।

प्राकृतिक वा कुनै विपत्ति आएको अवस्थामा अमेरिकाले उक्त देशका नागरिकलाई राहत होओस् भनेर टीपीएस सुविधा दिने प्रावधान छ।

टीपीएस हुँदा विभिन्न प्रक्रियाबाट अमेरिका गई विद्यार्थी भिसामा रहेका हजारौँ नेपालीहरूले बस्ने र काम गर्ने अधिकार पाएका थिए।

डिपार्टमन्ट अफ होमल्यान्ड सेक्यिुरिटीले विभिन्न निकायमार्फत् प्राप्त सूचनाहरूको समीक्षापछि नेपालमा अवस्थामा सुधार आएकाले टीपीएसका लागि आवश्यक मापदण्ड पूरा नहुँदा खारेज गर्ने निर्णयसम्बन्धी सूचना गत जुन महिनामा फेडरल रजिस्टरुमा प्रकाशित गरेको थियो।

अमेरिकामा टीपीएस सुविधामा रहेका नेपालीहरूको सङ्ख्या करिब ७,५०० भएको विभिन्न सङ्घसंस्थाले बताउने गरेका छन्।
टीपीएस अस्थायी सुविधा भएकाले यसलाई सधैँका लागि राख्न नहुने ट्रम्प प्रशासनले बताउँदै आएको छ।

डोनल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता टीपीएस खारेजीको विषयले मात्र नभई अवैध रूपमा अमेरिका छिरेका थुप्रै नेपालीहरू अहिले तनावमा रहेका छन् ।