अमेरिका-इरान युद्धविराम संकटमा, वार्ता अनिश्चित

अमेरिका-इरान युद्धविराम संकटमा, वार्ता अनिश्चित

युद्धका लागि तयार रहेको दुवैपक्षको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिका र इरानबीच जारी युद्धविरामको समय घर्किँदै गएपनि दोस्रो चरणको वार्ता अनिश्चित बनेको छ ।

वार्ताको भविष्य अन्योलमा परिरहेका बेला दुवैपक्षले युद्धका लागि तयार रहेको चेतावनी दिएका छन् ।

दोस्रो चरणको वार्ताको लागि कूटनीतिक प्रयासहरू पुनः पाकिस्तानमा केन्द्रित हुने संकेत देखिए पनि इरानले सहभागिताबारे स्पष्ट धारणा सार्वजनिक नगरेपछि स्थिति अझ जटिल बनेको छ ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्स इस्लामावाद गएर दोस्रो चरणको वार्ता अघि बढाउने तयारीमा रहेका छन् । तर, इरानले अमेरिकी कदमप्रति गम्भीर असन्तुष्टि जनाउँदै वार्तामा सहभागी हुने वा नहुने विषयमा मौनता कायम राखेको छ ।

इरानले अमेरिकामाथि आफ्ना बन्दरगाहहरूमा नाकाबन्दी लगाएर र एक जहाज नियन्त्रणमा लिएर युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।

इरानी संसदका अध्यक्ष मोहम्मद बाघेर घालीबाफले अमेरिकाले वार्तालाई दबाबको माध्यम बनाउन खोजेको आरोप लगाउँदै खतराको वातावरणमा वार्ता स्वीकार्य नहुने बताएका छन् । उनका अनुसार पछिल्ला दुई सातामा इरानले युद्धक्षेत्रमा नयाँ रणनीति देखाउने तयारी गरिरहेको छ ।

यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि होर्मुज क्षेत्रमा जहाजहरूलाई अवरोध गरेर युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् ।

२८ फेब्रुअरीमा अमेरिका र इजरायलले सुरु गरेको युद्धपछि इरानले विश्वको करिब पाँचौँ भाग तेल ओसारपसार हुने मार्ग अवरुद्ध गरेको छ । ट्रम्पले सामाजिक सञ्जालमार्फत नाकाबन्दीले इरानलाई कमजोर बनाइरहेको दाबी गर्दै समझदारी नभएसम्म दबाब जारी रहने संकेत दिएका छन्।

युद्धविरामको समयसीमा सकिन लाग्दा वार्तामा सहभागी हुने विषयमा ट्रम्पले इरान तयार हुनुपर्ने बताउँछन् । उनले युद्धविराम समाप्त भए ठूलो स्तरमा आक्रमण सुरु हुनसक्ने चेतावनी पनि दिएका छन् । यद्यपि, युद्धविराम केही समय थपिने सम्भावना न्यून रहेको उनको भनाइ छ ।

युद्धको जोखिमबीच अन्तर्राष्ट्रिय बजारमा भने तेलको मूल्य घट्दो क्रममा देखिएको छ । अमेरिका–इरानबीच सहमति भएर होर्मुज जलमार्ग पुनः सञ्चालनमा आउने आशाले बजार प्रभावित भएको विश्लेषण गरिएको छ ।

इरानमा युद्धविरामपछि केही सामान्य जीवन फर्किएको देखिए पनि सर्वसाधारणमा अनिश्चितता र आर्थिक दबाब अझै कायम छ । स्थानीय बासिन्दाहरूले अवस्था सहज नभएको र अर्थतन्त्र निकै कमजोर रहेको बताएका छन् ।