काठमाण्डु – अमेरिका र इरानबीच हर्मुज जलमार्गमा फेरि तनाव बढेको छ । दुई देशका सेनाबीच पछिल्लो पटक हर्मुज क्षेत्रमा गोली हानाहान भएसँगै तनाव बढेको हो । तर तनावकाबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायमै रहेको दाबी गरेका छन् ।
अमेरिकी र इरानी सेनाबीच बिहीबार राति गोली हानाहान भए पनि युद्धविराम अझै कायम रहेको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएको केही घण्टामै हर्मुज क्षेत्रमा पुनः तनाव बढेको इरानी सञ्चारमाध्यमले उल्लेख गरेका छन्। कुन पक्षले पहिला गोली चलाएको थियो भन्ने स्पष्ट नभएको तर शुक्रबार दुवै तर्फबाट हमला भएको रिपोर्ट गरिएको छ।
अमेरिकाले एउटा इरानी तेल ट्याङ्करलाई निशाना बनाएको र अर्को जहाज हर्मुज जलमार्गतर्फ आउन खोजेको र तटीय क्षेत्रमा हवाई हमला गरिएको आरोप इरानका एक उच्च सैनिक कमान्डरले अमेरिकामाथि लगाएका छन्।
अमेरिकाले पनि हर्मुज जलमार्गमा अमेरिकी नौसेना निर्देशित क्षेप्यास्त्र नस्ट गर्ने (मिसाइल डिस्ट्रोएर) प्रणालीमाथि इरानले आक्रमण गरेपछि आत्मरक्षाका लागि प्रत्याक्रमण गरिएको दाबी गरेको छ।
सामाजिक सञ्जाल ट्रूथ सोसलमा राष्ट्रपति ट्रम्पले लेखेका छन्, ‘इरानी आक्रमणकारीहरूलाई ‘ठूलो क्षति’ पुर्याइएको र थुप्रै सङ्ख्यामा साना डुङ्गाहरू ध्वस्त पारिएको छ।’
पछिल्लो घटनाबारे प्रतिक्रिया जनाउँदै इरानको आईआरजीसीले अमेरिकाले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ।
अमेरिकी सेनाले जास्क बन्दरगाहनजिक एउटा इरानी तेल ट्याङ्करलाई निशाना बनाएको आइआरजिसीले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बुधबार मात्रै इरान–अमेरिकाबीच वार्ता हुने खबर बाहिरिएसँगै विश्व बजारमा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुड अर्थात् (कच्चा तेल)को भाउ ११ प्रतिशतले घटेको थियो ।




प्रतिक्रिया