अमेरिकाद्वारा क्यानडा, मेक्सिको र चिनियाँ सामानमा अतिरिक्त कर लागू

अमेरिकाद्वारा क्यानडा, मेक्सिको र चिनियाँ सामानमा अतिरिक्त कर लागू


काठमाण्डु- अमेरिकाले क्यानडा, मेक्सिको र चिनियाँ समानमा अतिरिक्त कर लगाउने गरेको निर्णय लागू गरेको छ । निर्णय अनुसार मेक्सिको र क्यानडाको सामानमा २५–२५ प्रतिशत अतिरिक्त शुल्क लाग्ने छ । यस्तै चिनियाँ सामानमा भने १० प्रतिशत अतिरिक्त कर लाग्ने छ ।

क्यानडाबाट हुने ऊर्जा आयातमा १० प्रतिशत कर लाग्ने ट्रम्पको निर्णय छ । चीन र क्यानडाको सामानमा लाग्ने अतिरिक्त करको निर्णय मंगलबार रातिबाट सुरु हुनेछ ।

यसैगरी मेक्सिकोका सामानमा लाग्ने करको मिति तय भएको छैन । मेक्सिकोकी राष्ट्रपति क्लाउडियो सियानबमले सो निर्णय स्वीकार गर्न आफ्नो देश तयार भइसकेको बताएकी छिन् ।

ट्रम्पको निर्णयको देश भित्र र बाहिर विरोध भएको छ । नेसनल एसोसिएसन अफ होम विल्डर्सले विज्ञप्ति जारी गर्दै क्यानडा र मेक्सिकोबाट धेरै कच्चा पदार्थ आउने भएका कारण यो निर्णयले भवनको मूल्य बढ्ने जनाएको छ ।

स्टिल वर्कर, डिस्टिलरी कम्पनी तथा फुटवेयरसँग सम्बन्धित निकायले यो निर्णयले आफ्नो उत्पादन महँगो हुन जाने बताएका छन् । यसैगरी अमेरिकी कृषक समूहले पनि ट्रम्पको निर्णयको विरोध गरेको छ ।

शनिबार राति राष्ट्रपति ट्रम्पले क्यानडा, मेक्सिको र चीनका आयातमा कर लगाइएको घोषणा गरेका हुन् । उनले यसको कारण व्याख्या गर्दै ट्रुथ सोसलमा पनि पोस्ट गरेका छन् ।

ट्रम्पले यो निर्णय अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन (आईईईपीए) मार्फत गरिएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘हामीले अमेरिकीहरूको सुरक्षा गर्नुपर्छ र राष्ट्रपतिका रूपमा सबैको सुरक्षा सुनिश्चित गर्नु मेरो कर्तव्य हो ।’

राष्ट्रपति ट्रम्पले आफूले चुनावी अभियानका बेला सीमा पार गर्दै अमेरिकामा अवैध आप्रवासी र लागुपदार्थको बाढी रोक्ने वाचा गरेको गरेको स्मरण पनि गरेका छन् ।