कुन खोप लगाउने ? लगाएपछि के गर्ने ? यस्ता छन् विज्ञको सुझाव


काठमाण्डु – विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण विस्तारै घट्नै गइरहेको छ । पछिल्लो समय नेपालमा पनि कोरोनाभाइरसको संक्रमण घट्दै गइरहेको छ ।

नेपालमा कोरोनाको दोस्रो लहर शुरु भएपछि यसको रोकथाम तथा नियन्त्रणको लागि देशका विभिन्न स्थानमा लगाइएको निषेधाज्ञा खुकुलो बनाइएको छ । यस्तै चीनबाट आएको भेरोसेल र अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप पनि देशभर लगाईंदैछ ।

यसैबीच डा. रवीन्द्र पाण्डेले खोप सम्बन्धि विभिन्न जिज्ञासाबारे सुझाव दिएका छन् । उनले चीनको भेरोसिल र जोन्सनको खोपमध्ये कुन लगाउने ? पहिलो मात्रा कोभिशिल्ड लगाएका व्यक्तिले दोस्रो मात्रा कुन लगाउने ? लगायतका विभिन्न जिज्ञासाको उत्तर दिएका छन् ।

१. कुन खोप लगाउने ?

– कोरोना भाइरसविरुद्ध स्वीकृति प्राप्त तथा सरकारले तोके बमोजिम जुन खोप लगाएपनि काम गर्छ । हामीकहाँ छनोटको अवसर सिमित भएको हुँदा जुन उपलब्ध छ, त्यहि लगाउनु राम्रो हुन्छ ।

२. पहिलो मात्रा कोभिशिल्ड लगाएका व्यक्तिले दोस्रो मात्रा कुन लगाउने ?

– पहिलो मात्रा जुन खोप लगायो, दोस्रोमात्रा त्यहि खोप लगाउनु राम्रो हुन्छ । कोभिशिल्ड एस्ट्रेजेनेकाको उत्पादन हो । जापानले नेपाललाई प्रदान गर्ने १६ लाख खोप पनि एस्ट्रेजेनेकाको खोप हो । तसर्थ केहि दिन पर्खेर जापानले दिने खोप लगाउनु राम्रो हुन्छ । एस्ट्रेजेनेकाको पहिलो मात्रा लगाएका व्यक्तिले दोस्रो मात्रा मोडेर्ना वा फाइजरको खोप लगाउँदा फाइदा हुने जनाइएको छ । हामीकहाँ मोडेर्ना र फाइजरको खोप उपलब्ध छैन । तसर्थ चीनको भेरोसिल वा अमेरिकी जोन्सन एण्ड जोन्सनसंग मिक्सम्याच नगर्नु राम्रो हुन्छ ।

३. दीर्घरोगीले खोप लगाउने कि नलगाउने ?

– कोभिडबाट दीर्घबिरामीलाई बढी जोखिम हुने भएकोले दीर्घबिरामीले खोप लगाउनु सुरक्षित हुन्छ । आफ्नो रोग तथा औषधिको बारे आफ्नो चिकित्सक वा खोप केन्द्रमा सल्लाह गरेर लगाउनु थप सुरक्षित हुन्छ ।

४. चीनको भेरोसिल र जोन्सनको खोपमध्ये कुन लगाउने ?

– सरकारले तोके बमोजिमका उमेर र समुहले तोके बमोजिमको खोप लगाउने।

५. अमेरिकामा जोन्सनको खोप किन कम लगाइएको छ ?

– अमेरिका लगायत बिकसित देशमा खोप छनोटका धेरै बिकल्प छन् । तसर्थ उनीहरुले आफ्नो छनोट अनुसार फाइजर, मोडेर्ना, जोन्सन, एस्ट्राजेनेकाको खोप लगाएका छन् । हामीकहाँ त्यो सुबिधा छैन । त्यस्तै जोन्सनको खोप लगाउँदा अमेरिकामा दशौँ लाखमा ६ जनालाई रगत जम्ने समस्या देखिएकोले फाइजर र मोडेर्नामा बढी आकर्षण छ ।

६. नेपालमा उपलब्ध खोप कसले लगाउन मिल्दैन ?

– १८ बर्षमुनिका युवा /बालबालिकाले ।
– कोभिड खोप वा खोपका घटकको एलर्जी भएका व्यक्तिले।
– ज्वरो आएका व्यक्तिले ।
– कोभिड लागेका (निको नभएका) व्यक्तिले ।
– रगत जम्ने समस्या भएका व्यक्तिले ।

७. कसले साबधानीपूर्वक लगाउनु पर्दछ ?

– गर्भवती तथा ६ महिनाभन्दा कम उमेर भएका शिशुका आमाले (फाइदाभन्दा जोखिम बढी भएमा सम्बन्धित चिकित्सकको निगरानीमा लगाउन मिल्छ)।

८. खोप लगाउनुपूर्व तथा लगाएपछि के गर्ने ?

– सकभर खाना तथा पानी खाएर, भौतिक दुरी कायम गरेर खोप लगाउने । खोप लगाएपछि आधा घण्टा खोप केन्द्रमा बस्ने । कुनै समस्या भए तुरुन्त अस्पताल जाने । ज्वरो आउने, शरीर दुख्ने, जाडो हुने लगायतका लक्षण केहि दिनमा ठिक हुन्छन् ।

९. खोप सबैले नपाउने अवस्थामा के गर्ने ?

– खोपको उपलब्धतासंगै सरकारले उमेर समुह निर्धारण गर्दछ । तसर्थ आफ्नो पालोमा मात्र लगाउने ।

१०. बालबालिकाले कहिले लगाउने ?

– बालबालिकामा खोपको ट्र्याल बिभिन्न देशमा भइरहेको छ । केहि महिनामा धेरै खोपले बालबालिकाको लागि खोप बिकास गर्नेछन । त्यो बेलासम्म खोप लगाएका/नलगाएका /बालबालिका सबैले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने ।

प्रतिक्रिया दिनुहोस
Advertisement