परराष्ट्र मन्त्रालयमार्फत अमेरिकाबाट खोप ल्याउने प्रक्रिया अघि बढ्यो


काठमाण्डु – सरकारले अमेरिकाले अनुदानमा दिने खोप ल्याउने प्रक्रिया अघि बढाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अमेरिकाले दिने अनुदानको खोप ल्याउने प्रक्रिया अघि बढेको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले खोप ल्याउनका लागि परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढेको जानकारी दिए ।

अमेरिकाले नेपालसहित विश्वका अन्य देशहरुलाई ६ करोड खोप दिने घोषणा गरेको छ । सोहीअनुसार परराष्ट्र मन्त्रालयले खोप ल्याउनका लागि कूटनीतिक पहल सुरु गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकाले अन्य मुलुकलाई दिने भनेको ६ करोड डोज खोप ल्याउन प्रक्रिया सुरु भैसकेको बताएका छन् ।

नेपाली कांग्रेस नेता गगन थापाले अमेरिकाबाट खोप ल्याउनका लागि कूटनीतिक प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । उनको जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले भनेका छन्, ‘सुझावका लागि धन्यवाद माननीयज्यू । यस सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाई सकिएको छ ।’

‘अमेरिकी सरकारले करिब ६ करोड डोज बराबरको कोरोनाको खोप सहयोगका रूपमा विश्वव्यापी रूपमा प्रदान गर्ने भन्ने समाचार स्वागतयोग्य छ । अमेरिकी सहयोगले कोरोनाको पछिल्लो लहरले आक्रान्त पार्दै गरेको नेपाल लगायत दक्षिण एसियाका देशहरू लाभान्वित हुनेछन् भन्नेमा विश्वास राख्दछु’, उनले भनेका छन्, ‘नेपाल सरकारले केही समय अगाडि खोपका लागि अमेरिकी सरकारलाई सहयोग अनुरोध गरेको भन्दा अहिले खोपको उपलब्धताको सन्दर्भमा अमेरिकाको परिस्थिति भिन्न भएको छ। त्यस्तो मा नेपाल सरकारले त्यस्तो सहयोग नेपाल भित्र्याउन सम्पूर्ण पहल तत्काल सुरु गर्न आवश्यक रहेको छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement