काठमाण्डु- विश्व स्वास्थ्य संगठनको ७९औँ विश्व स्वास्थ्यसभामा सहभागी हुन जेनेभा पुगेकी स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता नेतृत्वको टोलीले ‘खोपका लागि ग्लोबल एलायन्स गाभी ट भ्याक्सीन एलाइनस का उच्चस्तरीय प्रतिनिधिसँग भेटवार्ता गरेको छ ।
भेटवार्तामा नेपालको स्वास्थ्य प्रणाली खोपको दीर्घकालीन निरन्तरता र आगामी दिनको स्वास्थ्य वित्तीय व्यवस्थापनको विषयमा छलफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्री मेहताले नेपालको सार्वजनिक स्वास्थ्य खर्च अझै पनि कुल गार्हस्थ्य उत्पादन जीडीपी को करिब पाँच प्रतिशत हाराहारीमा मात्र सीमित रहेको उल्लेख गरेको छ । साथै संक्रमणकालीन अवस्थामा खोप कार्यक्रम प्रभावित हुन नदिन गाभीसँगको समन्वय आवश्यक रहेको बताए ।
उनले आगामी सन् २०२६ नोभेम्बरमा नेपाल अतिकम विकसित राष्ट्र एलडिसी बाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सन्दर्भमा खोप खरिदमा नेपालले आफ्नै आन्तरिक लगानी क्रमश बढाउँदै लैजानुपर्ने अवस्था रहेको पनि स्पष्ट पारे ।
छलफलका क्रममा मन्त्री मेहताले नेपालको राष्ट्रिय स्वास्थ्य प्रणालीलाई थप मजबुत बनाउन दुवै पक्ष प्रतिबद्ध रहेको जनाइएको छ ।
गाभी द भ्याक्सिन अलाइन्स सन् २००० यता नेपालको राष्ट्रिय खोप कार्यक्रमको प्रमुख साझेदार रहँदै आएको छ । सन् २०२५ मा नेपालले हासिल गरेको रुबेला निवारण उपलब्धि तथा एचपीभीसहित विभिन्न जीवनरक्षक खोपको विस्तारमा गाभीले प्राविधिक र वित्तीय सहयोग प्रदान गर्दै आएको मन्त्रालयले जनाएको छ ।
जेठ ३ गतेको विश्व स्वास्थ्यसभामा सहभागी हुन जेनेभा पुगेकी मन्त्री मेहताले विभिन्न देशका समकक्षी मन्त्री, दातृ निकाय तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिसँग पनि साइडलाइन वार्ता गरिरहेको छ ।




प्रतिक्रिया