काठमाण्डु – व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापन गर्न काठमाडौँ उपत्यकाको थप पाँच स्थानमा फ्लाई ओभर निर्माण गरिने भएको छ ।
थानकोट (थानकोट–नागढुङ्गा) सिस्नेखोलामा निर्माणाधीन सुरुङमार्ग नजिक), कोटेश्वर, बानेश्वर, त्रिपुरेश्वर र गौशालामा गरी थप पाँच स्थानमा फ्लाई ओभर निर्माण हुने भएको सडक विभागले जनाएको छ । थानकोटमा निर्माण गरिने फ्लाई ओभरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भई निर्माण सम्झौतासमेत सम्पन्न भइसकेको छ ।
सडक विभागका महानिर्देशक केशवकुमार शर्माले प्रस्तावित पाँच वटामध्ये थानकोटमा निर्माण गरिने फ्लाई ओभरको (डीपीआर) तयार भई ठेक्का प्रक्रिया सम्पन्न भइसकेको जानकारी दिनुभयो । त्यसैगरी, कोटेश्वरमा निर्माण गरिने फ्लाई ओभरका लागि जापान सरकारको सहयोगमा सम्भाव्यता अध्ययन भइरहेको उहाँले बताउनुभयाे ।
बाँकी स्थानको फ्लाई ओभर निर्माण चीन सरकारको सहयोगमा हुने बताउँदै महानिर्देशक शर्माले बानेश्वर, त्रिपुरेश्वर र गौशालामा फ्लाई ओभरको सम्भाव्यता अध्ययनका लागि चीनसँग समझदारी पत्रमा हस्ताक्षर भई काम सुरु भएको जानकारी दिनुभयो ।
त्रिपुरेश्वर–थापाथली–माइतीघर सडकखण्डमा बढ्दै गएको सवारी चापलाई कम गर्न यसअघि नै जापानी सहयोग नियोग (जाइका)ले त्रिपुरेश्वरदेखि माइतीघरसम्म सीधा फ्लाई ओभर बनाउने सुझावसहित प्रतिवेदन सरकारलाई बुझाइसकेको छ । यो फ्लाई ओभर निर्माणसँगै त्रिपुरेश्वर, थापाथली र माइतीघरको जाम पूर्ण रूपमा हट्ने सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जाइकाको सो प्रतिवेदन अनुसार यो फ्लाई ओभर निर्माण गर्न नेपाली सेनाको जङ्गीअड्डा र त्रिभुवन विश्वविद्यालयको केही जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया