उपत्यकाका १८ वटा पेट्रोल पम्प हटाइने

उपत्यकाका १८ वटा पेट्रोल पम्प हटाइने


काठमाडौँ –  काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तर्गत उपत्यकाका सडक छेउका १८ वटा पेट्रोल पम्प हटाइने भएका छन् । सडक छेउका पेट्रोल पम्प हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नेपाल आयल निगमलाई पत्राचार भइसकेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव छवि रिजालले काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तर्गत उपत्यकाका सडक छेउका र सडकको घुम्तीमा रहेका पेट्रोल पम्पको व्यवस्थापन गर्न नेपाल आयल निगम र ट्राफिक प्रहरीलाई पत्राचार भएको जानकारी दिनुभयो । उहाँले पेट्रोल पम्पको व्यवस्थापनका लागि कार्ययोजना बनाएर योजनाबद्ध तरिकाले आयल निगमले पहिचान भएका पेट्रोल पम्प हटाइनेछ भन्नुभयो ।

नेपाल आयल निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले काठमाडौँ उपत्यकाको बढी मात्रामा सवारीसाधन आवागमन हुने सडक छेउ र सडक घुम्तीमा रहेका पेट्रोल पम्प हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निगमलाई पत्र प्राप्त भएको बताउनुभयो ।

उहाँले निगमलाई प्राप्त पत्र अनुसार सम्बन्धित पेट्रोल पम्पलाई समेत निगमका तर्फबाट पत्राचार भएको जानकारीसमेत दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट काठमाडौँका १२ र ललितपुरका छ वटा पेट्रोल पम्प हटाउन निगमलाई निर्देशन दिइएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।