तरकारीको विषादी परीक्षण प्रविधि नै छैन

तरकारीको विषादी परीक्षण प्रविधि नै छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतबाट नेपाल आउने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्नबाट पछि हटेको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यो विषयमा सरकारको धारणा राखिसकेका छन् ।

उनले क्वारेन्टाइनको उचित व्यवस्थापनपछि मात्रै भारतबाट आउने तरकारीमा विषादी परीक्षण गरिने बताएका छन् । सरकारसँग भने हाल दुई वटा विषादीको मात्र परीक्षण गर्न सक्ने प्रविधि रहेको पाइएको छ ।

कालीमाटीस्थित विषादी प्रयोगशाला केन्द्रका नायब प्राविधिक सहायक जागेश्वर शर्माका अनुसार कारवामेट र अर्गानिक फस्फेट समूहको विषादी मात्र परीक्षण गर्ने प्रविधि छ, जुन कीटनाशक विषादी हो । यो प्रविधिबाट कारवामेट समूह र अर्गानिक फस्फेट समूहबाहेक अन्य विषादी थाहा नहुने शर्माले बताए ।

बाली संरक्षण तथा वितरण केन्द्रका अनुसार नेपालमा पञ्चीकृत भएका १ सय १६ वटा विषादी छन् । जसमा ५२ किसिमका सामान्य कीटनाशक, ४० किसिमका भुसुनानाशक, दुई किसिमका मुसानाशक र २२ किसिमका झारपातनाशक छन् ।

कालीमाटीस्थित विषादी प्रयोगशाला केन्द्रका नायब प्राविधिक सहायक शर्माले सरकारसँग कीटनाशक विषादी मात्र परीक्षण गर्ने प्रविधि भएकाले सबैको परीक्षण गर्न कठिन भएको बताए । सरकारले ४ असार २०७१ मा कालीमाटी बजारमा पहिलोपटक परीक्षण केन्द्र स्थापना गरेको थियो । तत्कालीन मुख्य सचिव लीलामणि पौड्यालको विशेष सक्रियतामा कालीमाटी बजारमा सो केन्द्र स्थापना गरिएको थियो ।

यो प्रयोगशाला स्थापना गर्न संयुक्त राष्ट्रसंघको खाद्य तथा कृृषि संगठन ९एफएओ०को १५ लाख रुपैयाँ गरी कुल ३० लाख खर्च भएको थियो । यो समाचार राजधानी दैनिकमा छ ।