विराटनगरमा महिला नेतृत्व शिखर सम्मेलन हुँदै, तयारी पूरा

विराटनगरमा महिला नेतृत्व शिखर सम्मेलन हुँदै, तयारी पूरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल उद्योग परिसंघले कोशी प्रदेशको विराटनगरमा वैशाख २१ गते राष्ट्रियस्तरको महिला नेतृत्व शिखर सम्मेलन आयोजना गर्ने भएको छ ।

बिहीबार पत्रकार प्रेसमिटमार्फत सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको परिसंघले जनाएको हो ।

परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको आर्थिक विकासलाई तीव्र बनाउन महिला सहभागिता अनिवार्य रहेको बताएका छन् । उनले हालको करिब ४५ अर्ब डलरको अर्थतन्त्रलाई १०० अर्ब डलरमा विस्तार गर्न श्रमशक्ति, मानव पुँजी, भौतिक पुँजी र कुल उत्पादकत्व (टोटल फ्याक्टर प्रोडक्टिभिटी) मा उल्लेखनीय सुधार आवश्यक रहेको बताए ।

उनका अनुसार औसत ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न श्रमशक्तिको दायरा विस्तार गर्नुपर्नेछ, जसका लागि वैदेशिक रोजगारीबाट फर्किएका कामदारसँगै महिलाहरूको सक्रिय सहभागिता अत्यन्त महत्वपूर्ण हुन्छ । ‘महिलाको श्रम सहभागिता, नेतृत्व विकास र उद्यमशीलता प्रवर्द्धन नगरी दिगो आर्थिक विकास सम्भव हुँदैन,’ उनले भने ।

सीएनआईले कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकासँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागेको छ । सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने कार्यक्रम रहेको छ ।

‘दिगो समृद्धितर्फ कृषि, सीप, सिर्जनशीलता र डिजिटल नवप्रवर्तन’ भन्ने मुख्य विषयवस्तु रहेको सम्मेलनमा महिला नेतृत्व विकास, क्षमता अभिवृद्धि, उद्यमशीलता प्रवर्द्धन तथा स्थानीय स्रोतसाधनको अधिकतम उपयोगबारे व्यापक छलफल हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा कृषि, सीप र नवप्रवर्तनसँग सम्बन्धित विषयहरूलाई प्राथमिकता दिइनेछ भने डिजिटल प्रविधिको प्रयोगमार्फत व्यवसाय विस्तार र बजार पहुँच बढाउने उपायबारे पनि विमर्श गरिनेछ ।

सम्मेलनका प्रमुख आकर्षणहरूमा महिला उद्यमीहरूको प्रेरणादायी सफलताका कथाहरू, डिजिटल भुक्तानी प्रणाली (फोनपे लगायत) सम्बन्धी अन्तरक्रिया, स्वदेशी उत्पादनको प्रदर्शनी तथा उद्यमी, नीति निर्माता, निजी क्षेत्र र विकास साझेदारबीच नेटवर्किङ कार्यक्रम रहेका छन् ।

कोशी प्रदेशसहित देशभरका महिला उद्यमी, वित्तीय संस्था, नीति निर्माता तथा व्यवसायीहरूलाई एकै ठाउँमा ल्याई सहकार्य र अनुभव आदानप्रदानको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा सीएनआई वुमन लिडरसिप फोरमकी सदस्य बिदुषी राणाले फोरमले प्रत्येक वर्ष महिला नेतृत्व सम्बन्धी सम्मेलन आयोजना गर्दै आएको जानकारी दिइन् ।

उनका अनुसार १ वर्ष काठमाण्डुमा अन्तरराष्ट्रिय स्तरको सम्मेलन र अर्को वर्ष प्रदेशस्तरमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने परम्पराअनुसार यसपटक विराटनगरमा कार्यक्रम गर्न लागिएको छ ।

यसअघि २०२३ र २०२५ सालमा काठमाण्डुमा अन्तरराष्ट्रिय सम्मेलन तथा २०२४ सालमा चितवनमा राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।

सम्मेलनले महिला उद्यमशीलता प्रवर्द्धन, दिगो व्यवसायिक अवसर सिर्जना, नवप्रवर्तन विस्तार तथा कृषि, सीप र सिर्जनशीलतामार्फत मूल्य शृंखला विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

आयोजकका अनुसार कार्यक्रमले महिला नेतृत्वलाई सशक्त बनाउँदै समावेशी आर्थिक वृद्धि र दिगो समृद्धिको आधार निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।