कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा भित्रिएका तीन प्रकारका तरकारीमा सुरक्षित सीमाभन्दा बढी विषादी भेटिएको छ।
केन्द्रीय कृषि प्रयोगशाला, हरिहरभवनको प्रयोगशाला एकाइले असार १२ गते गरेको द्रुत विषादी अवशेष परीक्षणको नतिजामा धादिङबाट ल्याइएको लौका, मकवानपुरबाट ल्याइएको काउली र सल्यानबाट ल्याइएको आलुमा उच्च मात्रामा अर्गानोफस्फेट विषादी भेटिएको हो।
प्रयोगशालाका अनुसार धादिङको गजुरी गाउँपालिकाबाट ल्याइएको लौकामा ६६.५१ प्रतिशत, मकवानपुरको थाहा नगरपालिकाबाट ल्याइएको काउलीमा ६४.५४ प्रतिशत र सल्यानबाट ल्याइएको आलुमा ६६.९९ प्रतिशत इन्हिबिसन दर मापन गरिएको छ। यी तीनवटै नमुना तोकिएको सुरक्षित सीमाभन्दा माथि रहेकाले नष्ट गर्नुपर्ने निर्णय गरिएको हो।
मापदण्डअनुसार विषादीको इन्हिबिसन दर ४५ प्रतिशतभन्दा बढी भएका कृषि उपज उपभोगका लागि अयोग्य मानिन्छ।
त्यसैगरी, सोही दिन परीक्षण गरिएका अन्य नौ नमुना भने सुरक्षित पाइएको प्रयोगशालाले जनाएको छ। गोदावरीको गोलभेँडा, मकवानपुरको बन्दागोभी, धादिङको तितेकरेला र भान्टा, रोल्पा र सिन्धुपाल्चोकका आलु, सल्यानको अर्को आलु तथा भारतबाट आयात गरिएको प्याजमा विषादीको मात्रा तोकिएको सीमाभन्दा कम रहेको पाइएको हो।
प्रयोगशालाका अनुसार ३५ प्रतिशतभन्दा कम इन्हिबिसन दर भएका कृषि उपज उपभोगका लागि योग्य हुन्छन् भने ३५ देखि ४५ प्रतिशतसम्म रहेका उपज केही दिन राखेर मात्र प्रयोग गर्न मिल्छ।




प्रतिक्रिया