काठमाण्डु– भेनेजुएलामा बुधबार आएको २ शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या १ हजार ४३० पुगेको छ, देशका शीर्ष राजनीतिज्ञ होर्खे रोड्रिगेजले सरकारी टेलिभिजनमार्फत जानकारी दिँदै ३ हजार २०० जना घाइते भएको बताएका हुन् । यस्तै भूकम्पले ३ हजार १०० जना घरबारविहीन भएका छन्।
बुधबार साँझ १ मिनेटको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका २ भूकम्प आएपछि देशको उत्तरी क्षेत्रमा रहेका धेरै भवनहरू ध्वस्त भएका थिए।
उद्धारकर्मीहरू अझै पनि भग्नावशेषमा जीवित व्यक्तिहरूको खोजीमा जुटिरहेका छन्। यसबीच ६८ हजार ९०० भन्दा बढी व्यक्तिहरू हराइरहेको भन्दै उनीहरूका परिवारले जानकारी दिएकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक ला ग्वाइरामा स्थानीय बासिन्दाहरू फावडा र आफ्नै हातले भग्नावशेष हटाउँदै सम्भावित जीवित व्यक्तिको खोजी गरिरहेका छन्।

भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले प्रभावित क्षेत्रमा १४ हजारभन्दा बढी सेना र प्रहरी परिचालन गरिएको जानकारी दिएकी छन्। उनका अनुसार ती क्षेत्रमा आवतजावतमा कडाइ गरिएको छ र प्रवेशका लागि विशेष अनुमति आवश्यक छ।
शनिबार मेक्सिको, अमेरिका, ब्राजिल, एल साल्भाडोर र फ्रान्सबाट थप उद्धार टोलीहरू भेनेजुएला पुगेका छन्। यसअघि नेदरल्यान्ड्स, टर्की र बेलायतबाट समेत उद्धार टोली परिचालन भइसकेका थिए।
संयुक्त राष्ट्रसंघ (यूएन) ले शनिबार सार्वजनिक गरेको प्रारम्भिक मूल्यांकनअनुसार भूकम्पका कारण करिब ६.७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको छ, जुन भेनेजुएलाको कुल गार्हस्थ्य उत्पादनको करिब ६ प्रतिशत बराबर हो।





प्रतिक्रिया