ड्रोन आक्रमणमा भाग्यले बाँचे भेनेजुयलाका राष्ट्रपति


काठमाडौं -भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई लक्षित गरी ड्रोन आक्रमण भएको छ । तर, उनी भाग्यबस बचेका छन् । उनको सुरक्षार्थ तैनाथ सैनिकहरु घाइते भएका छन् । त्यहाँको सरकारले राष्ट्रपतिको हत्या गर्ने कोशिस भएको बताएको छ ।

राजधानी कराकासमा एक कार्यक्रमलाई राष्ट्रपति निकोलसले सम्बोधन गरिरहेको बेला ड्रोन बिस्फोट भएको थियो । उक्त कार्यक्रम टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेको थियो । ड्रोन हमला भएपछि सुरक्षाकर्मीहरुले राष्ट्रपतिलाई घेरा हालेर सुरक्षित स्थानमा लगेका थिए ।

भेनेजुयलाका अधिकारीहरुले राष्ट्रपति मदुरो सकुशल रहेको बताएका छन् । भेनेजुयलाका सञ्चारमन्त्री जर्ज रोड्रिग्जसले यसलाई राष्ट्रपतिको हत्याको कोशिस भनेको बीबीसीले लेखेको छ ।

घटनापछि छिमेकी देश कोलम्बिया र अमेरिकाका केही तत्वहरुले आफ्नो हत्या गर्ने ‘दक्षिणपन्थी षडयन्त्र’ अनुसार ड्रोन आक्रमण गरेको आरोप लगाए ।

उनको दाबीअनुसार घटनाको पछाडि कोलम्बियाली राष्ट्रपति जुवान म्यानुएल सान्तोसको हात रहेको छ । तर, कोलम्बियाको सरकारले भने घटनामा आफ्नो संलग्नता रहेको भन्ने आरोपको खण्डन गरेको छ । उसले भनेको छ ‘मादुरोको आरोपमा कुनै आधार छैन ।’

यस घटनापछि धेरै अनुत्तरित प्रश्नहरु उब्जिएका छन् र वास्तवमा भेनेजुएलामा नयाँ षडयन्त्रले सबैको ध्यान मोडिदिएको छ । राष्ट्रपति मादुरो र उनका मानिसहरुले बेलाबेलामा विपक्षी दल, कोलम्बिया र अमेरिकामाथि आफ्नो सरकारलाई सिध्याउन लागिपरेको आरोप लगाउँदै आएका छन् ।

यसअघि सन् २०१७ जुनमा पनि भेनेजुएलाको सर्वोच्च अदालतमा बमवर्षक हेलिकप्टरले हमला गरेको थियो जसलाई राष्ट्रपति मादुरोले ‘आतंकवादी आक्रमण’को संज्ञा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement