उपराष्ट्रपति पुनसँग चिनियाँ राजदूतको विदाई भेट


काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि चीनका राजदूत यु होङले शिष्टाचार विदाई भेट गरेकी छन् । बुधबार विहान उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर राजदूत होङले उपराष्ट्रपति पुनसँग विदाई भेट गरेकी हुन् ।

उपराष्ट्रपति पुनले चिनियाँ राजदूत होङसँगको भेटमा विकास र समृद्धिको नेपालको यात्रामा चीनको सदैव साथ सहयोग रहने विश्वास व्यक्त गरे । नेपाल चीनबीच पारिवारिक नाताको सम्बन्ध रहेको बताउंदै उपराष्ट्रपतिले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउनमा राजदूत होङले उल्लेख्य भूमिका खेलेको बताए ।

‘नेपाली छोरी भृकुटीको विवाह चीनमा भयो । नेपाल चीन सम्बन्ध नजिकको पारिवारिक सम्बन्ध हो’, उनले भने , ‘दुई देशको सम्बन्ध जनस्तरसम्म प्रगाढ बनेको छ । दुई देशबीचको सहकार्य र सहयोग फराकिलो बन्दै गएको छ ।’ उपराष्ट्रपतिले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनामा हस्ताक्षर र नेपाल र चीनबीच भएको व्यापार तथा पारवाहन सम्बन्धी प्रोटोकलमा भएको समझदारीले नेपालको विकास र समृद्धिको यात्रामा योगदान पु¥याउने विश्वास व्यक्त गरे । ‘हामीले बिआरआईमा हस्ताक्षर गरेका छौँ । व्यापार तथा पारवाहन संझौताको प्रोटोकलमा भएको समझदारीले नेपालको समृद्धिको यात्रामा योगदान पुग्नेछ,’ उनले भने, ‘यी दुई महत्वपूर्ण कार्यमा पु¥याउनु भएको योगदानका लागि धन्यवाद दिन चाहन्छु ।’

उपराष्ट्रपति पुनसँगको विदाई भेटमा चीनका राजदूत यू होङले नेपाल विकास र समृद्धिको यात्रामा अगाडि बढेको देख्दा चीन अत्यन्त खुशी रहेको बताए । उनले नेपालको विकास र समृद्धिको यात्रामा चीन सदैव सहयोगी बन्न चाहेको र सबै प्रकारको सहयोग गर्न तयार रहेको बताए । ‘नेपालले विकास विकासको क्षेत्रमा प्राप्त गरिरहेको उपलब्धीमा चीन अत्यन्त खुशी छ । चीन सरकारले नेपालको विकासमा धेरै ध्यान राखेको छ’, उहाँले भन्नुभयो, ‘हामी नेपालको विकास र समृद्धिको यात्रामा धेरै सहयोग गर्न चाहन्छौँ, योगदान दिन चाहन्छौँ ।’

राजदूत होङले नेपालमा रहेको वैदेशिक लगानीमा चिनियाँ लगानी उच्च रहेको बताइन । उनले चीनले नेपालाई दिंदै आएको अनुदान सहयोग सबै भन्दा बढी रहेको बताए । ‘नेपालमा तीन वर्ष यताको वैदेशिक लगानी हेर्दा चीन पहिलो नम्बरमा छ’, उनले भनीन् , ‘चीनले नेपाललाई दिंदै आएको अनुदान सबै देशलाई दिईरहेकोमा सबै भन्दा बढी हो ।’

राजदूत होङले इतिहासमा चीन र नेपाल नातेदार भएको बताए । ‘भृकुटीको चीनमा विवाह भयो । ईतिहासमा चीन र नेपाल नातेदार हुन्’, उनले भने, ‘औपचारिक सम्बन्ध स्थापना भएको यता दुई देशबीचको सम्बन्ध स्थिर छ । अत्यन्त राम्रो छ ।’ उनले चीन नेपाल सम्बन्ध थप प्रगाढ बनाउन उच्च योगदान दिएको भन्दै उपराष्ट्रपति पुनलाई धन्यवाद समेत दिए । राजदूत होङले आफूपछि आउने राजदूत दक्षिण एशिया र नेपाल सम्बन्धी जानकार रहेको बताउनुहुँदै उनको कार्यकालमा दुईदेशबीचको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement