अष्ट्रियन विश्व शिखर सम्मेलनमा उपराष्ट्रपतिलाई प्रश्न -उर्जा दशकमा नेपालले के गर्छ ?


भियना – उपराष्ट्रपति नन्दबहादुर पुन भियनामा आयोजित जलवायु सम्बन्धी आर-२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा सहभागी भएर नेपालको धारणा राखेका छन् । मंगलबार आयोजित सम्मेलनको समूहगत छलफलमा उपराष्ट्रपति पुनलाई ‘जलवायु परिवर्तनका हिसाबले नेपाल उच्च जोखिममा रहेको छ । तपाईंको देशसँग तेल, ग्याँस वा कोइला छैन । तर, तपाईंसँग पहाड, जल र सौर्य स्रोत छन्, जसले नवीकरणीय उर्जामा आधारित दिगो वृद्धिसहितको अर्थतन्त्र विकास गर्न मद्दत पु¥याउन सक्छ ।

जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय कातोविच सम्मेलन ठिक अघि घोषणा गरिएको नेपालको उर्जा दशक अन्तर्गतका एक–दुई पहल कदमीहरु बारे हामीलाई जानकारी पाँउ न’ भन्दै प्रश्न गरिएको थियो । उपराष्ट्रपति पुनले विशेष गरी नेपालले घोषणा गरेको उर्जा दशकबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिएका थिए ।

उपराष्ट्रपति पुनले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताए । उनले कार्बन उत्सर्जनमा नेपालको भूमिका नरहे पनि त्यसको असर भोगिरहेको बताए । “जलवायु परिवर्तनको असरका कारण नेपाल पनि उच्च जोखिममा छ । हिमाल पग्लिरहेका छन्, पानीका मुहान सुकिरहेका छन्, प्राकृतिक वनस्पती तथा जीवहरु लोप हुने अवस्थामा छन्”, उपराष्ट्रपति पुनले भने, “हामीले ग्यास, तेल र कोइला उत्खनन् र प्रयोग गरेका छैनौँ । कार्बन उत्सर्जनमा हाम्रो करिब ०.०२७ प्रतिशतमात्र भूमिका छ । तर, पनि हामीले यसको असर भोगिरहेका छौँ ।”

उपराष्ट्रपतिले नेपालको हिमाल, पहाडको भौगोलिक बनावट र नेपालमा रहेको जलस्रोतले नविकरणीय उर्जामा आधारित दिगो वृद्धिसहितको अर्थतन्त्रको विकास गर्न सहयोग पु¥याउने बताए । उपराष्ट्रपति पुनले सन् २०१८ देखि २०२८ सम्मलाई उर्जा तथा जलस्रोतको दशक घोषणा गरेको जानकारी गराउँदै उक्त अवधिमा नेपालले जलविद्युत र नवीकरणीय उर्जाबाट १५ हजार मेगावाट उर्जा उत्पादन गर्न लागेको जानकारी गराए । उनले उर्जा दशकले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने योगदान पु¥याउने बताए ।

“यो एक उच्च लक्ष्यका साथ ल्याइएको योजना हो, जसअन्तर्गत नविकरणीय स्रोतबाट उच्च परिमाणमा उर्जा उत्पादन गर्ने, स्वच्छ उर्जाको प्रवर्धन गर्दै खनिजजन्य उर्जा माथिको निर्भरता अन्त्य गर्ने, ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने योजना रहेको छन्”, उनले भने ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटे«स, अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेन, पाकिस्तानका प्रधानमन्त्री इमरान खान लगायतले सम्बोधन गरेको अष्ट्रियन शिखर सम्मेलनमा विभिन्न समूहमा छलफल भएका थिए । जलवायु सम्बन्धी पहिलो विशेष समूहमा उपराष्ट्रपति पुन सहित घाना, हंगेरी र लात्भियाका राष्ट्रपति र विश्व बैंकका कार्यकारी अधिकृतले भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement