भिआइपीको सुरक्षामा खटिएका २८० अंगरक्षक फिर्ता


काठमाडौं – विशिष्ट व्यक्ति र नेता लगायको सुरक्षामा खटिएका २८० जना अंगरक्षकहरुलाई नेपाल प्रहरीले फिर्ता बोलाएको छ । प्रहरीले अनावश्यक रुपमा प्रहरीकै बहालवाला र अवकाशप्राप्त प्रहरी अधिकारीसँगै नेताहरुको सुरक्षामा रहेका २८० जनालाई पछिल्लो १० महिनाको अवधीमा फिर्ता बोलाएको हो।

आफूमाथि सुरक्षा ‘थ्रेट’ समेत नभएको अवस्थामा प्रहरी बोकेर हिँड्ने प्रवृत्ति बढेपछि उनीहरुलाई फिर्ता बोलाइएको हो । गत बैशाखदेखि पुससम्म बहालवाला र अवकाश प्राप्त प्रहरी अधिकृतहरुसँग रहेका १६३ प्रहरी कर्मचारीहरुलाई फिर्ता बोलाइएको हो । जसमा प्रहरी नायव निरीक्षक एकजना, प्रहरी सहायक निरीक्षक १६ जना, प्रहरी हवल्दार ४१ जना, प्रहरी जवान ८० जना र प्रहरी कार्यालय सहयोगी २५ जनालाई प्रहरी अधिकारीकै साथबाट फिर्ता बोलाइएको हो ।

यस्तै नेता, पूर्वमन्त्री, सासंदलगायत विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका ११७ जना अंगरक्षकलाई पनि फिर्ता बोलाइएको हो । जसमा २६ जना प्रहरी नायब निरीक्षक, २५ जना प्रहरी सहायक निरीक्षक , ३७ जना प्रहरी हवल्दार, २७ जना प्रहरी जवान र २ जना प्रहरी कार्यालय सहयोगी छन् । आईजीपी सर्वेन्द्र खनालको निर्देशनमा उनीहरुलाई फिर्ता बोलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले कारवाही र पुरस्कारको व्यवस्था सँगसँंगै अगाडि बढाएको छ । आईजीपी सर्वेन्द्र खनालले विभिन्न कार्यक्रममा नराम्रो गर्नेलाई निरुत्साहित र राम्रो गर्नेलाई प्रोत्साहन गर्ने बताउँदै आएकोमा पछिल्लो समय कारवाही भन्दा पुरस्कृत हुने प्रहरीको संख्या बढेको पाइएको छ ।

गत वैशाखदेखि पुस मसान्तसम्मको अवधीमा २ हजार ३९२ पटक प्रहरी आचरण र व्यवहारको अनुगमन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जसअनुसार १ हजार २२७ जना प्रहरी कर्मचारीमाथि विभिन्न प्रकारको कारवाही गरिएको छ भने १ हजार ९३८ जना पुरस्कृत भएका छन् । चालु आर्थिक वर्षको माघ १६ गतेसम्म १५३ प्रहरी कर्मचारीलाई सेवाबाट हटाइएको छ भने १९ जनालाई बर्खास्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement