राष्ट्रपति पौडेलद्वारा कतार राष्ट्रिय संग्रहालय र इस्लामिक कला संग्राहालय अवलोकन

राष्ट्रपति पौडेलद्वारा कतार राष्ट्रिय संग्रहालय र इस्लामिक कला संग्राहालय अवलोकन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कतारको दोहा भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार राष्ट्रिय संग्रहालय र इस्लामिक कला संग्राहालय अवलोकन गरेका छन् ।

राष्ट्रपति पौडेलले कतार राष्ट्रिय संग्रहालय र इस्लामिक कला संग्राहालयको अवलोकन गर्ने क्रममा संग्रहालयका अधिकारीहरूले स्वागत गर्दै इतिहास, संरचना र प्रदर्शनीबारे जानकारी गराएका थिए ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भ्रमणका क्रममा राष्ट्रपति पौडेलले कतारको सांस्कृतिक सम्पदा र संरक्षण अभ्यासबारे चासो व्यक्त गरेका थिए ।

राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन सोमबार कतार पुगेका हुन् । सम्मेलन मंगलबारदेखि दोहामा सुरु भएको छ । सम्मेलनमा नेपालसहित विभिन्न देशका राष्ट्रप्रमुख, मन्त्री र प्रतिनिधिहरू सहभागी छन् ।

मंगलबार राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्दै सामाजिक विकासका ३ स्तम्भहरू गरीबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी र सबैका लागि मर्यादित काम तथा सामाजिक समावेशीकरणबारे नेपालको अनुभव र प्रतिबद्धता प्रस्तुत गरेका थिए ।

सोही दिन उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट गर्दै द्विपक्षीय र बहुपक्षीय विषयमा विचारविमर्श गरेका थिए । सम्मेलनमा विश्वले सामना गरिरहेको विकास असमानता, जनसंख्या असन्तुलन, र प्रविधिको प्रभावबारे पनि विस्तृत छलफल भएको छ ।

सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा पहिलोपटक भएको सम्मेलनको दोस्रो संस्करण अहिले दोहामा जारी छ । संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष देशका रूपमा नेपाल हाल क्षेत्रीय तथा विश्व विकासका मुद्दामा सक्रिय भूमिका खेलिरहेको छ ।

राष्ट्रपति पौडेलले कतारको औपचारिक भ्रमण पूरा गरी कात्तिक २० गते स्वदेश फर्किने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।