काठमाण्डु- देशव्यापी रुपमा बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ । सरकारले शनिबार र आइतबार देशैभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने छ ।
राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ए तथा एक देखि पाँच वर्ष सम्मका बालबालिकालाई जुका मार्ने औषधि खुवाइने भएको हो ।
यस्तै ६ महिनाभन्दा माथिका बालबालिकालाई बाल भिटा पोषणयुक्त आहार दिइँदै छ । नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिका पनि खोप दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
२ दिने अभियानमा पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ए र २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको छ ।
बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो ।
पोषण शाखाका प्रमुख लिला विक्रम थापाका अनुसार देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गरिनेछ ।
भिटामिन एको कमीले बालबालिकाको वृद्धि विकासमा असर, रतन्धो, कुपोषण, दीर्घरोग, रोगविरुद्ध लड्ने क्षमतामा कमी जस्ता समस्या हुन्छन् ।
एक अध्ययनले पाँच वर्षभन्दा मुनिका बालबालिका मध्ये ११ प्रतिशतलाई भिटामिन ए कमी भएको देखिएको छ ।
चुकन्दर, साग, ब्रोकाउली, साबुत अन्न, पनीर, गिरीदार फल, बटर, गाँजर, खुर्सानी, डेरीबाट उत्पादित सामग्री, राजमा, मटन, आँप, पालक, मटर, फर्सी, रातो खुर्सानी, सी फुड, सलजम, टमाटर, सखरखण्ड, तरबुजा, मकैका दाना, पहेंलो वा नारंगी रंगका फलफूल भिटामिन ए का स्रोत हुन् ।
भिटामिन एले हड्डीलाई मजबुत बनाउने, घाउ पुर्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा छालालाई स्वस्थ राख्ने काम गर्छ । साथै, यसले भोजनलाई शक्तिमा परिवर्तन गर्नुका साथै कोषलाई समेत स्वस्थ राख्छ ।
यो कार्यक्रम हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते देशैभर जिल्लामा सञ्चालन हुँदै आएको छ ।
प्रतिक्रिया